राजनीति

१४औं महाधिवेशनसम्म आइपुगेको कांग्रेसको यस्तो छ इतिहास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २६ गते १६:४७
१४औं महाधिवेशनसम्म आइपुगेको कांग्रेसको यस्तो छ इतिहास (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनमा केन्द्रित छ । नीतिभन्दा नेतृत्वमा जोड दिएको कांग्रेसका नेताहरु यसपटक नेतृत्वकै रस्साकस्सीमा छन् । ७५ वर्षको इतिहास बोकेको कांग्रेसमा कैयौं उतार–चढावहरु आए ।

वीपी कोइरालाको पहलमा विक्रम संवत् २००३ मा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसलाई नै हालको नेपाली कांग्रेसको स्थापनाका रुपमा लिइन्छ । कस्तो रह्यो कांग्रेसको आरोह–अवरोह, यो हेरौं ।

विक्रम संवत् २००३ सालमा वीपी कोइरालाको पहलमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो । दुईवटा कांग्रेस पार्टीको एकतापछि नेपाली कांग्रेसको स्थापना २७ चैत २००६ मा भएको हो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसको एकता भएको चौथो अधिवेशनबाट पार्टीको नाम नेपाली कांग्रेस राखिएको थियो ।
तर, बीपी कोइरालाको पहलमा २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको दिनलाई नै नेपाली कांग्रेसको पनि स्थापना दिवसका रुपमा लिइन्छ ।

नेपाली राष्ट्रिय कांग्रेस स्थापनाका लागि पहिलो पहल बीपी कोइरालाबाटै भएको थियो । उहाँले विसं २००३ असोज १८ मा भारतको पटनाबाट प्रकाशित हुने ‘द सर्च लाइट’मा एउटा आह्वान सार्वजनिक गर्नुभएको थियो । आह्वानमा वीपीले भारतमा ब्रिटिसहरूको शासन समाप्त हुन लागेकाले नेपालमा पनि जहानियाँ शासनलाई समाप्त पार्न पार्टी निर्माण गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

उहाँको आह्वानअघि नै बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत नेपालीले ‘नेपाली छात्र संघ’ स्थापना गरिसकेका थिए । बीपीको आह्वानपछि नेपाली छात्र संघकै प्रयासमा कात्तिक १५ मा काशीमा एउटा गोष्ठी आयोजना गरेर राजनीतिक दल खोल्ने प्रयास सुरु भयो ।

त्यसका लागि देवीप्रसाद सापकोटा सभापति भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरिएको थियो । उपसभापतिमा बालचन्द्र शर्मा, महामन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचारमन्त्रीमा गोपालप्रसाद भट्टराई र कार्यसमितिमा बटुकप्रसाद भट्टराई, नारायणप्रसाद भट्टराई र नरेन्द्र रेग्मी थिए ।

त्यसैबीच नेपालको जेलबाट भागेर भारत पुगेका गणेशमान सिंह र बीपी कोइरालाको भेट भयो । पार्टी स्थापनाका लागि कलकत्तामा हुने सम्मेलनमा गणेशमान प्रजापरिषद्को सदस्यको हैसियतमा सहभागी हुनुभयो । सम्मेलनबाट निस्किँदा भने कांग्रेस भइसक्नु भइसकेको थियो ।

पहिलो अधिवेशनः पार्टी स्थापना
नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्न १२ र १३ माघ २००३ मा भारतको कलकत्ता भवानीपुरस्थित खालसा हाइस्कुलमा सम्मेलन बोलाइएको थियो । पछि यसैलाई पहिलो अधिवेशन मानियो । यो सम्मेलनले पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्ने निर्णय गर्यो । यो सम्मेलनमा गणेशमान सिंहको दबाबमा टंकप्रसाद आचार्य सभापति बन्नु भयो । अनि वीपी कोइराला कार्यवाहक सभापति बन्नुभयो ।

दोस्रो महाधिवेशनः जेलमा बीपी, नेतृत्वमा मातृका
नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको दुई महिना नपुग्दै २००३ चैतमा विराटनगरस्थित जुट मिलमा आन्दोलन चल्यो । आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए । उक्त आन्दोलनको स्वामित्व लिन बीपी विराटनगर पुग्नुभयो । आन्दोलनकै क्रममा उहाँ चैत १२ मा पक्राउ पर्नुभयो । सभापति टंकप्रसाद आचार्य पनि जेलमै थिए ।

पार्टी हाँक्न नयाँ नेतृत्व आवश्यक भएपछि २७ र २८ चैतमा जोगवनीमा भएको दोस्रो सम्मेलनले मातृकाप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनायो ।

कार्यवाहक सभापति बनाइएका मातृका कोइरालाले आन्दोलनभरि मात्र सभापति बन्ने शर्तमा नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता र नेतृत्व दुवै एकै साथ लिनुभएको थियो । नेपाली राष्ट्रिय कांग्रेसले जेठ २० मा सत्याग्रह स्थगित गरेपछि मातृकाले कार्यवाहक सभापतिबाट राजीनामा दिनुभयो । उक्त पदमा एक वर्षका लागि डिल्लीरमण रेग्मी चुनिनुभयो ।

बीपी कोइराला २००४ भदौमा जेलमुक्त भए पनि रेग्मीले नेतृत्व हस्तान्तरण गर्न मान्नुभएन । बीपीले पछि २००४ असोज २८ मा कार्यवाहक सभापति आफू नै भएको घोषणा गर्नुभयो । रेग्मीले त्योभन्दा एक कदम अगाडि बढेर जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापतिबाट बर्खास्त गरे र आफैँ सभापति भएको घोषणा गर्नुभयो । यसले नेपाली राष्ट्रिय कांग्रेसमा फुट आयो ।

तेस्रो महाधिवेशनः फेरि बीपी जेलमा, मातृका दोस्रो पटक नेतृत्वमा
बीपी कोइराला आन्दोलन हाँक्न वि। सं। २००५ कात्तिकमा काठमाडौँ पुग्नुभयो । तर, काठमाडौँ पुगेको केही समयमै उहाँ गिरफ्तार हुनुभयो । नयाँ नेतृत्व छान्न नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो अधिवेशन २००५ फागुन १८ मा दरभङ्गा बिहारमा भयो ।

यो अधिवेशनले दोस्रो पटक मातृकालाई कार्यवाहक सभापति छान्यो । २००६ जेठ १६ मा बीपी जेलबाट रिहा भएपछि पनि मातृका नै कार्यवाहक सभापति भइरहनुभयो ।

चौथो महाधिवेशनः नेपाली कांग्रेसको जन्म
सुवर्ण र महावीरशमशेरको पहलमा २००४ साउन १ मा कलकत्तामा नै नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो । उक्त पार्टीको सभापति महेन्द्रविक्रम शाह र महामन्त्री सूर्यप्रसाद उपाध्याय थिए । पार्टीले सशस्त्र क्रान्तिबाट राणा शासन फ्याँक्ने नीति लिएको थियो ।

क्यानसर पत्ता लागेपछि मुम्बईमा गएर उपचार गराउनु भएका वीपीले त्यहाँबाट फर्किएर सुवर्णसमशेरको पार्टीसँग एकताको पहल गर्नुभयो ।
२००६ चैत २७ मा कलकत्तास्थित महावीरशमशेरको टाइगर सिनेमा हलमा भएको सम्मेलनले पार्टीको नाम नेपाली कांग्रेस राख्यो र सभापति मातृकाप्रसाद कोइराला तथा महामन्त्री महेन्द्रविक्रम शाहलाई छान्यो । बीपीलाई सभापति बनाउने गणेशमान सिंहको प्रयास सफल भएन ।

पाँचौं महाधिवेशनः मातृका–बीपी द्वन्द्वले फुटतर्फ
२००७ सालमा प्रजातन्त्र आएपछि कांग्रेसको नेतृत्व गरेका बीपी सरकारमा सामेल हुनुभयो राणाहरुसँगको द्वन्द्वका कारण बीपीले गृहमन्त्रीबाट राजीनामा दिुभयो । राणा–कांग्रेस सरकार ढल्यो । दरबार र भारतको साथ पाएका मातृका २००८ मंसिर १ मा प्रधानमन्त्री नियुक्त हुनुभयो ।

बीपी गुटले मातृका सरकारलाई सहयोग गरेन । भारतीय हस्तक्षेप, डा. केआई सिंहको विद्रोहजस्ता कारणले बीपी–मातृका विवाद बढ्यो । विवादकै बीच १०–१३ जेठ २००९ मा जनकपुरमा कांग्रेसको पाँचौं महाधिवेशन भयो ।

महाधिवेशनबाट बीपी सभापतिमा निर्वाचित हुनुभयो । पार्टीले २००९ साउन ८ मा मातृकालाई सरकारबाट राजीनामा दिन निर्देशन दियो । साउन १० गते मातृकासहित नारदमुनि थुलुङ, महावीरशमशेर र महेन्द्रविक्रम शाहले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिए । पार्टीले उनीहरुलाई कारबाही गरेर निकाल्यो ।

त्यसलगत्तै भद्रकाली मिश्रले नयाँ पार्टी ‘जन कांग्रेस’ गठन गर्नुभयो । बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले ‘नेपाली कांग्रेस वामपन्थी’ गठन गर्नुभयो । नेपाली कांग्रेस चार चिरा भयो । मातृकाले पार्टीबाट कारबाही भोगेको १० महिनापछि २०१० वैशाख १६ मा आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’ को स्थापना गर्नुभयो ।

छैटौँ महाधिवेशनः गणेशमानसँगको प्रतिस्पर्धामा सुवर्ण विजयी
नेपाली कांग्रेसको छैटौँ महाधिवेशन २०१२ माघ १०–१२ वीरगञ्जमा भएको थियो । यो महाधिवेशनबाट नेपाली कांग्रेसले औपचारिक रूपमा समाजवादी नीति अख्तियार गरेको थियो । महाधिवेशनमा सुवर्णशमशेर सभापतिमा निर्वाचित हुनुभयो । यो अधिवेशनबाट नै गिरिजाप्रसाद कोइराला पहिलो पटक केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनुभएको थियो ।

विशेष महाधिवेशनः पार्टी एकता सुवर्णको सफलता
मातृकाप्रसाद कोइरालाको नेपाल प्रजा पार्टीलाई नेपाली कांग्रेससँग एकता गराएर सुवर्ण शमशेरले निकै ठूलो काम गर्नुभयो । २०१३ सालको भदौ–असोजमा नेपाल प्रजा पार्टी र नेपाली कांग्रेसको एकता भयो । सुवर्ण नै सभापति हुनुभयो । तर, एकताबद्ध पार्टीको नेतृत्व बीपीले गर्नुपर्ने भन्दै सुवर्णले सभापति पदबाट राजीनामा दिनुभयो ।
नेपाल कांग्रेसले नयाँ परिस्थितिमा २०१४ जेठ ११ र १२ गते विराटनगरमा विशेष महाधिवेशन ग¥यो । यो महाधिवेशनबाट बीपी कोइराला सर्वसम्मत सभापति निर्वाचित हुनुभयो ।

सातौँ महाधिवेनः सभापति बन्न बीपीसँग भूदेव राईको प्रतिस्पर्धा
सातौँ महाधिवेशनको बेला नेपाली कांग्रेस सरकारमा थियो । २०१५ सालको निर्वाचनमा दुईतिहाई मतसहित बीपी कोइरालाले सरकार सञ्चालन गर्नुभएको थियो । त्यही परिस्थितिमा काठमाडौँको महाराजगञ्जस्थित लक्ष्मी निवासमा २०१७ वैशाख २५ देखि ३१ सम्म महाधिवेशन भएको थियो । यो महाधिवेशनबाट बीपी कोइराला सभापतिमा निर्वाचित हुनुभयो ।

आठौँ महाधिवेशनः ३१ वर्षपछि फर्किएको लोकतन्त्र
नेपाली कांग्रेसको सातौँ महाधिवेशन भएको आठ महिनामै राजा महेन्द्रले ‘कू’ गरे । त्यसपछि प्रधानमन्त्री तथा पार्टी सभापति बीपी कोइरालासहित गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत धेरै नेता जेल परे । दलमाथि प्रतिबन्ध लाग्यो । सुवर्णशमशेर उपचारका लागि भारत गएकाले गिरफ्तारीबाट बच्नु भयो ।

उहाँले २०१७ माघ १२ देखि १४ सम्म पटनामा विशेष सम्मेलन बोलाउनुभयो । यो सम्मेलनले सुर्वणशमशेरलाई कार्यवाहक सभापति तोकेको थियो । यही सम्मेलनले पुस १ को शाही कदम फिर्ता लिएर राजबन्दी रिहा गर्नुपर्ने तथा विघटित संसद् पुनःस्थापना गर्नुपर्ने माग राखेर सशस्त्र आन्दोलनको घोषणा गरेको थियो । कांग्रेसको इतिहासमा यो दोस्रो सशस्त्र आन्दोलनको घोषणा थियो । तर, यो आन्दोलन सफल भएन ।

आठ वर्षपछि बीपी रिहा भएर भारत पुग्नुभयो । सात वर्ष भारत बसेपछि २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किँदा पुनः पक्राउ पर्नुभयो । उपचार गर्नुपर्ने भएपछि सरकारले रिहा गरिदियो । उहाँले २०३४ सालमा पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन आयोजना गर्नुभयो । सो सम्मेलन मार्फत बीपीले कार्यवाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिनुभयो ।
बीपीको निधनपछि २०३९ सालमा गणेशमान सिंहको निवासमा भट्टराई पुनः निर्विरोध कार्यवाहक सभापति चयन हुनुभयो ।

पञ्चायत ढलेपछि २०४६ सालमा भट्टराई प्रधानमन्त्री हुनुभयो । तर, २०४८ सालको निर्वाचनमा उनको हार भएपछि महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो । त्यही वर्षको अन्त्यमा २०४८ फागुन १ देखि ३ सम्म आठौँ महाधिवेशन भयो ।

पञ्चायतकालमा पार्टीले महाधिवेशन गर्न सकेको थिएन । योबीचमा नेपाली कांग्रेसका दुई महत्वपूर्ण संस्थापक नेता बीपी कोइराला र सुवर्णशमशेरको मृत्यु भइसकेको थियो । आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई निर्विरोध पार्टी सभापति निर्वाचित हुनुभयो ।

नवौँ महाधिवेशनः गिरिजाप्रसाद पहिलो पटक सभापति
नवौँ अधिवेशन २०५३ वैशाख २६–२८ मा काठमाडौँमा भएको थियो । यो महाधिवेशनका बेला नेपाली कांग्रेसभित्र कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समूहबीच तीव्र प्रतिस्पर्धा थियो । कोइरालासँग रुष्ट रहेका गणेशमान सिंहले पार्टी छाडीसक्नु भएको थियो ।

दशौँ महाधिवेशनः सभापतिमा गिरिजा, देउवा र जोशीको दाबी
कांग्रेसको दशौँ महाधिवेशन २०५७ माघ ६ गतेदेखि ९ गतेसम्म पोखरामा भएको थियो । यो महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखियो । जसअनुसार केन्द्रीय कार्यसमितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन भयो ।
महाधिवेशनमा सभापतिका लागि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा थिए । कोइराला र जोशी दोस्रो पटक प्रतिस्श्पर्धा गर्दै थिए भने देउवा पहिलो पटक उम्मेदवार बन्नुभएको थियो । गिरिजाप्रसाद विजयी हुनुभयो ।

११औँ महाधिवेशनः फुटको महाधिवेशन
२०५९ सालमा नेपाली कांग्रेस विभाजन भयो । शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बन्यो । उप–सभापतिमा चिरञ्जीवी वाग्ले, महामन्त्रीमा खुमबहादुर खड्का, सहमहामन्त्री विजयकुमार गच्छदार र सदस्यहरुमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रदीप गिरीलगायत थिए ।

यता गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले २०६२ भदौ १४–१७ ललितपुरमा ११औँ महाधिवेशन ग¥यो । उक्त महाधिवेशनबाट गिरिजा तेस्रोपटक सभापति बन्नुभयो । देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकले २०६२ पुस २१–२४ महाधिवेशन गरेर देउवालाई नै सभापति बनायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्