Main News

कांग्रेस महाधिवेशन : मनोनयन दर्ता शुरु, अहिलेसम्म ककसले दर्ता गरे ?

हिमालय टिभी
२०७८ मंसिर २५ गते १२:५७
कांग्रेस महाधिवेशन : मनोनयन दर्ता शुरु, अहिलेसम्म ककसले दर्ता गरे ?

२५ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापतिमा कल्याण गुरुङको मात्रै उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, सहमहामन्त्री दलिततर्फ मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । सभापति शेरबहादुर देउवाको निर्देशनमा आफूले उम्मेदवारी दिएको विश्वकर्माले बताउनुभयो ।

संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित छ । सो समूहबाट महामन्त्रीमा प्रदिप पौडेलको नाम टुंगिएको बताइएको छ । केहीबेरमा प्यानलसहितनै उम्मेदवारी दर्ता गर्ने देउवाको तयारी छ ।

त्यस्तै, संस्थापनइतर समूहबाट प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गर्नुभएको छ । उहाँको प्यानलबाट नेतृ सुजाता कोइरालाले उपसभापति उठ्ने बताइसक्नुभएको छ ।

त्यस्तै, डा. शेखर कोइरालाले पनि प्यानलसहित उम्मेदवारी दर्ताका लागि गृहकार्य जारी राख्नुभएको छ । कांग्रेस नेता विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दर्ता गर्ने घोषणा गरिसक्नुभएको छ । तर, अहिलेसम्म प्यानल नै नटुंगिएकाले केहीबेरमा उनीहरु दलबलसहित उम्मेदवारी दर्ता गर्न जाने सचिवालयले जनाएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति १, उपसभापति २,महामन्त्री २, सहमहामन्त्री ८ गरी १३ पदाधिकारीसहित १ सय ३४ जनालाई निर्वाचित गर्नेछ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहान १० बजेबाट शुरु भएको मनोनयन दर्ता ५ बजेसम्म चल्नेछ ।

आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ । उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ ।

मतदान सकिएपछि सभापतिको उम्मेदवारको मतगणना राष्ट्रिय सभा गृहमा हुनेछ । पहिलो चरणमा खसेको मतको ५१ प्रतिशत नआए भोलीपल्टै पुनः मतदान हुनेछ । सभापति बाहेकका उम्मेदवारको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना हुने संयोजक घिमिरेले जानकारी दिनुभयो । यस पटक विभिन्न क्लस्टरका २९ वटा मतपत्र रहेको छ ।

मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ । कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो । गएराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *