काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो

२५ मंसिर २०७८ काठमाडौं । यो वर्षको हिउँद शुरु भएयता काठमाडौंको तापक्रम आज बिहान कम मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।
यसअघि हिजो काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
उहाँका अनुसार आज दिउँसो भने देशभरी कै मौसम सफा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका एक दुई ठाउँमा भने हल्का हिमपात हुने देखिएको उहाँले बताउनुभयो ।
आज र भोलि देशभरी कै मौसम सफा भएपनि पर्सिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
पर्सि पश्चिमी वायु नेपाल आउँने भएकाले यी प्रदेशको हिमाली भेगमा हिमपात हुने तर अरु प्रदेशको मौसम भने सामान्यतया सफा नै रहेने मौसमविद् नगरकोटीको भनाइ छ ।
प्रतिक्रिया