Main News

कांग्रेस महाधिवेशनको बन्दसत्रमा पौडेल पक्ष अनुपस्थित

हिमालय टिभी
२०७८ मंसिर २५ गते ७:४०
कांग्रेस महाधिवेशनको बन्दसत्रमा पौडेल पक्ष अनुपस्थित

२५ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनको बन्दसत्र गएराति नै सकिएको छ।

काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र राति १० बजे सकिएको हो । बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता सहभागी थिएनन् । पौडेल पक्ष सभापतिसहित पदाधिकारीका उम्मेदवार टुंगो लगाउन छलफलमै व्यस्त रहेकाले अनुपस्थित भएको बताइएको छ ।

बन्द सत्रमा सांगठनिक प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको थियो । सबै प्रतिवेदन बन्दसत्रबाट पारित भएका छन् ।

१४औँ महाधिवेशन गर्नका लागि कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टी विधानका विभिन्न धारा र उपधाराको व्याख्या, बाधा अड्काउ फुकाऊ र निलम्बनका लागि गरिएको प्रस्ताव बन्दसत्रले अनुमोदन गरेको छ।

यसैबीच आज पनि दुबै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । संस्थापन पक्षले सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिने निर्णय गरे पनि पदाधिकारी टुंग्याउन सकेको छैन ।

पदाधिकारीमा सबै समूहलाई समेट्नु पर्ने भएपछि देउवा दबाबमा हुनुहुन्छ । विगतदेखि आफूसँगै रहेकादेखि पार्टी एकीकरणमा आएका विजयकुमार गच्छदार, सुनिल बहादुर थापा तथा देउवासँगै प्रदेशमा सहकार्य गरेका कृष्ण सिटौला समूहका आकांक्षीलाई व्यवस्थापन गर्न देउबालाई सकस भएको छ ।

उता इतर समूहमा सभापतिको साझा उम्मेदवार अझै टुंगिएको छैन । बन्द सत्र नै छाडेर सभापतिको साझा उम्मेदवार छान्न बैठक बसे पनि सहमति जुटेको छैन । सहमति भए पौडेललाई मान्न सबैजसो तयार भए पनि प्रकाशमान सिंहले दाबी छाडेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *