Main News

वायु सेवा निगम टाट पल्टियो, ऋण बढेर ५० अर्ब, पेन्सन पाउन पालो कुर्नुपर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २२ गते २०:५८
वायु सेवा निगम टाट पल्टियो,  ऋण बढेर ५० अर्ब, पेन्सन पाउन पालो कुर्नुपर्ने (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०७८ काठमाडौं । ६३ वर्षे इतिहास बोकेको मुलुकको पहिलो हवाई सेवा प्रदायक संस्था नेपाल वायुसेवा निगम यतिबेला आर्थिक चपेटामा छ। नयाँ जहाज किन्ने रटानमा रहेको निगमले भएका जहाजलाई सही व्यवस्थापन गर्न नसक्दा ऋण भार हरेक वर्ष थपिँदै गएको छ ।

जसका कारण अवकास प्राप्त कर्मचारीलाई पेन्सन खुवाउन र ऋणको ब्याज तिर्न समेत हम्मेहम्मे परेको छ ।

नेपालको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ऋण ५० अर्ब रुपैयाँ पुगेको छ । त्यो रकम निगमले १० देखि १२ प्रतिशतसम्मको ब्याज लिएको हो । ऋणभारसँगै निगमको हालसम्मको सञ्चित घाटा १० अर्ब हाराहारीमा छ। निगमको घाटा वार्षिक करिब २ अर्ब रुपैयाँ नजिक पुगेको छ।

हरेक सरकार र तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका पहिलो प्राथमिकतामा निगमको सुधार पर्ने गर्छ । तर बार्षिकरुपमा टाटपल्दिै जाँदा अहिले निगमलाई अवकास प्राप्त कर्मचारीलाई पेन्सन खुवाउन र ऋणको साँवा, ब्याज भुक्तानीका लागि स्रोत जुटाउनै मुश्किल पर्न थालेको छ।

निगमको आम्दानीको मुख्य स्रोत जहाज उडाउनु हो । निगमसँग भएका १३ जहाजमध्ये ७ वटा ग्राउन्डेड छन्, बाँकी ६ मध्ये २ वटा न्यारोबडी, १ वाइडबडी र ३ वटा ट्वीनटर जहाजले निगमको वित्तीय दायित्वलाई धेग्न सकिरहेको छैनन् ।

निगमको अर्को आम्दानीको श्रोत ग्राउन्ड ह्यान्डलिङ हो। तर, अहिले सीमित अन्तर्राष्ट्रिय उडानका कारण यो पनि निकै घटेको छ । निगम यो अवस्थामा पुग्नुको प्रमुख कारण राजनीतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थालाई प्रमुख कारण मानिन्छ ।

उसो त घाटा बढ्दै गएपछि विकल्पका रुपमा कहिले वैदेशिक साझेदार भित्र्याउने त कहिले निजीकरण गर्ने विषयले प्राथमिकता पाउदै आएको छ । तर विमान व्यवस्थापन, गन्तव्य विश्लेषण, संरचनात्मक सुधार गरेर निजीकरण गर्नबाट रोक्नुपर्ने कतिपयको सुझाव छ ।

बढ्दो राजनीतिक हस्तक्षेप र त्यसपछि सुरु भएका विभिन्न काण्डका कारण निगम भ्रष्टाचार, विकृती र कमजोर व्यवस्थाको नमूना बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *