Main News

साझा उम्मेदवार तय गर्न कांग्रेस पौडेल पक्षमा चर्को दबाव

हिमालय टिभी
२०७८ मंसिर २२ गते १४:४३
साझा उम्मेदवार तय गर्न कांग्रेस पौडेल पक्षमा चर्को दबाव

२२ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरुलाई दबाव दिएका छन् ।

आज काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरुको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरुलाई दबाव दिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरुसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एक जनालाई साझा उम्मेदवार दिन दबाव दिएको नेता अर्जुननरसिंह केसीले बताउनु भयो ।

उहाँले आफू अन्तिम निस्कर्षको बाटोतर्फ उन्मुख भएको बताउँदै आज बेलुकासम्म निर्णय गर्ने बताउनु भयो । नेता केसीले संस्थापनइतर समूहबाट नेता सिंह र शेखर कोइराला मिलेर आए नेता पौडेल र महामन्त्री शशांक कोइरालाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको जानकारी समेत दिनुभयो ।

नेता केसीले भन्नुभयो, ‘हामी करिव अन्तिम निस्कर्षको बाटोतिर उन्मुख छौँ । अहिले जितेका कमसेकम ३२ जना जिल्ला सभापतिहरुसँग बसेर कुराकानी गर्दा विभिन्न सुझाव आएका छन् । ती सुझावहरुलाई लिएर ३ बजे फेरि बैठक बस्छौँ । त्यसपछि बेलुकासम्म निर्णय गर्दछौँ ।’

त्यस्तै नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले वरिष्ठ नेता पौडेल र शशांक कोइरालाई साझा उम्मेदवार तोक्न दबाव दिएको बताउनुभयो । उहाँले संस्थापन इतर समूह विचार र सिद्धान्तको समूह भएकाले बिपीको विचार र आदर्शमा रहेर अघि बढ्ने बताउनु भयो । उहाँले संस्थापन इतर समूहले जितेमा कोमामा पुगेको नेपाली कांग्रेस फर्किने बताउनु भयो ।

संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउन बैठक दिउँसो ३ बजे पुनः बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *