Main News

पुनर्निर्माणबारे अनुभव आदानप्रदान गर्न सम्मेलन गरिँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते २१:०९
पुनर्निर्माणबारे अनुभव आदानप्रदान गर्न सम्मेलन गरिँदै (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि भएको पुनर्निर्माणबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन सम्मेलन आयोजना गरिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबारदेखि आयोजना गरेको सम्मेलनमा विभिन्न देशमा मन्त्री, पूर्वाधार विज्ञहरुको सहभागिता छ । उनीहरुसँग नेपालले प्राप्त गरेको अनुभव आदान–प्रदान गरिनेछ । सम्मेलनको उद्घाटन भने भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट भएको क्षतिको पुननिर्माणको काम ६ वर्षमा लगभग सकिएको छ । भूकम्पप्रभावित ३२ जिल्लामा निजी आवास, शैक्षिक तथा स्वास्थ्य संस्था एवं पुरातात्विक सम्पदामा ठूलो क्षती पुगेको थियो ।

प्राधिकरणको कार्यकाल आगामी पुस ९ गते सकिने भएपछि बाँकी कार्यको जिम्मेवारी सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिसकेको छ । यही पुनर्निर्माणमा नेपालले प्राप्त गरेको अनुभव र सिकाईलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाड्ने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा भारत, चीन, बंगलदेश, जापान लगायत मुलुकका सरकारी अधिकारी एवम् पूर्वाधार विज्ञहरुको सहभागिता रहेको छ ।

उनीहरुसँग पुनर्निर्माण र पूर्वाधार विकासबारे विभिन्न समूहमा छलफल समेत गरिनेछ । प्राधिकरणका अनुसार ९ लाख बढी निजी आवास, ८ हजार बढी शैक्षिक संस्था र १२ सय स्वास्थ्य स्वास्थ्य संस्था, १ हजारभन्दा बढी मठमन्दिर, ३ सय ५३ वटा सरकारी भवन, ४ सय ९० वटा साँस्कृतिक सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । पुरातात्विक सम्पदाको प्रगति भने केही कम छ । तर समग्रमा पुनर्निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको प्राधिकरणको भनाइ छ ।

पुनर्निर्माणका लागि ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *