राजनीति

कांग्रेसको इतर पक्षलाई सभापतिको उम्मेदवार तोक्नै सकस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते २०:३५
कांग्रेसको इतर पक्षलाई सभापतिको उम्मेदवार तोक्नै सकस (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत ६ तहमा निर्वाचन सकेर अन्तिम चरणमा छ । ७५ वर्षको इतिहास बोकेको कांग्रेसमा अहिले गुटगत प्रतिष्पर्धा तीव्र देखिएको छ ।

स्थानीयदेखि प्रदेशसम्म आइपुग्दा संस्थापन र संस्थापन इतरमा बाँडिएको कांग्रेसमा केन्द्रीय समितिको निर्वाचनसम्मको चित्र पनि लगभग यही हो । तर, दुबै पक्षले पदाधिकारीका उम्मेदवार टुंग्याएका छैनन् ।

संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने निश्चित हुँदा इतर पक्षले टुंगो लगाउन सकेको छैन । बाँकी पदमा दुबै पक्षले उम्मेदवार बनाउन कसरत जारी राखेका छन् ।

शुक्रबारदेखि कांग्रेसले काठमाडौंको भृकुटीमण्डपमा १४औँ राष्ट्रय महाधिवेशन गर्दैछ । यसपटक नीति भन्दा नेतृत्वमा केन्द्रित कांग्रेसभित्र जोडघटाउ सुरु भएको छ । जिल्ला र प्रदेशबाट स्पष्ट बहुमत पाएका पार्टी सभापति देउवा हौसिनुभएको छ ।

उहाँले आफू पुनः सभापतिको उम्मेदवार भएको घोषणा गरिसक्नुभयो । तर, उहाँको सारथी को–को हुने प्रष्ट छैन । आकांक्षीहरु धेरै हुँदा देउवालाई उपसभापति, महामन्त्री, सहमहामन्त्रीको उम्मेदवार बनाउनै कठिन देखिएको छ । दुई उपसभापति, २ महामन्त्री र विभिन्न क्लस्टरबाट ८ सहमहामन्त्री निर्वाचित हुने विधानमा व्यवस्था छ ।

१३औँ महाधिवेशनमा बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधि यसपटक आफैं सभापतिको आकांक्षी हुनुहुन्छ । देउवाले निधिको स्थानमा महामन्त्री पूर्णबहादुर खड्कालाई अघि सार्नुभएको छ । निधिको पूर्ति र संस्थापन इतर पक्ष एक हुँदा आउने चुनौति सामना गर्न देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ खोज्नुभएको छ ।

प्रदेश १ को निर्वाचनमा सिटौला पक्षलाई साथ दिएर देउवाले ‘डेमो’ देखाइसक्नु भएको छ । १३औँ महाधिवेशन पछि देउवाबाट टाढिएका सिटौलालाई १४औँ महाधिवेशनमा फकाउनु पर्ने बाध्यता छ । देउवा पक्षमै रहेका उपसभापति विजय गच्छदारले पुनः यही पदमा दोहोरिने चाहना राख्नुभएको छ ।

सिटौला उपसभातिको उम्मेदवार हुन चाहे देउवाले खड्का वा गच्छदार मध्ये एकलाई ‘व्याक’ गर्नुपर्ने हुन्छ । यदि सिटौला पदाधिकारी बन्न नचाहे उहाँ निकट प्रदीप पौडेललाई महामन्त्री दिनुपर्ने अर्को बाध्यता छ । तर, सिटौला पक्षले खुलेर केही बताएको छैन, यो समूह आन्तरिक छलफलमै रहेको बताउँदै आएको छ । देउवा समूहबाट महामन्त्रीको आकांक्षी बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक हुनुहुन्छ। दुई वटा पदमा यति धेरै आकांक्षी व्यवस्थापन देउवाका लागि अर्को चुनौति हो ।

महामन्त्री घोषणा गरिसकेका प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि आफ्नो समूहमै राख्ने देउवाको चाहना छ । आठ वटा क्लस्टरमा हुने सहमहामन्त्रीमा पनि व्यवस्थापनको समस्या छ । संस्थापन पक्ष सभापतिमा ढुक्क देखिंदा इतरलाई भने साझा उम्मेदवार बनाउनै कठिन बनेको छ ।

सभापतिकै आकांक्षी चार जना देखिएका इतर पक्षले आन्तरिक छलफललाई तीव्र बनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला टसको मस देखिनुभएको छैन । सभापति नै नटुंगिदा इतर पक्षले उपसभापति, महामन्त्री र सहमहामन्त्रीका उम्मेदवारमा छलफल नै गर्न सकेको छैन ।

उपसभापतिमा अर्जुननरसिंह केसी, रामशरण महत, चन्द्र भण्डारी, महेश आचार्यले इच्छा देखाउनु भएको । सभापतिमा साझा उम्मेदवार कायम गर्न सके बाँकीले उपसभापतिको आकांक्षा राख्ने निश्चित छ ।

महामन्त्रीमा इतरबाट गगन थापा, धनराज गुरुङ, मिनेन्द्र रिजालको आकांक्षा छ । सभापतिको उम्मेदवारमै अलमलिएको इतर समूह तितरवितर हुने संकेतहरु पनि देखिएका छन् । यसले तुलनात्मक रुपमा संस्थापन पक्षालाई फाइदा पुर्याएको छ । तर, पदाधिकारी व्यवस्थापनमा देउवालाई देखिएको चुनौतिको पहाड चिर्न पनि सहज छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्