कांग्रेस नेता गुरुराज घिमिरेले भने–प्रधानमन्त्री देउवाले ममाथि दोस्रोपटक राजनीतिक हिंसा गरे
२१ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको टिप्पणी गर्नु भएको छ ।
मंगलबार चाक्सीबारीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली कांग्रेस प्रदेश १ को निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सत्ताको चरम दुरुपयोग गरी आफूलाई हराएर दोस्रो पटक राजनीतिक हिंसा गरेको बताउनुभएको हो ।
गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भएपनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उहाँको भनाइ छ । कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन मूल्य स्खलनको जिवन्त उदाहरण भएको उहाँले बताउनुभयो ।
पार्टीको सिद्धान्त, आदर्श र मूल्यमान्यतालाई अपहेलित गरेर निर्वाचन सम्पन्न गराइएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘मूल्य स्खलनको एउटा चरम दृष्टान्त हो, जिवन्त दृष्टान्त हो प्रदेश नम्बर १ को निर्वाचन । पार्टीको सिद्धान्त, आदर्श, मूल्यमान्यतालाई कुल्चेर, त्यसलाई अपहेलित गरेर प्रदेश नम्बर १ को निर्वाचन सम्पन्न भयो । सत्ताको चरम दुरुपयोग गरियो । राजनीतिक हिंसाको श्रृङ्खला उहाँले नै शुरु गर्नुभएको हो ।’
नेता घिमिरेले प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको प्रयोग भएको बताउनुभयो । सभापति देउवाले आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न प्रधानमन्त्रीको कुर्सी प्रयोग गरेको भन्दै उहाँले पार्टीको महाधिवेशनमा सत्ताको चरम दुरुपयोग गर्नेले मूल्य चुकाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया