Main News

सबैलाई पूर्ण खोप नदिइकन किन बुस्टर डोजमा हतारो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २० गते २०:३२
सबैलाई पूर्ण खोप नदिइकन किन बुस्टर डोजमा हतारो ? (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७८ काठमाडौं । सरकारले कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने तयारी गरिरहेको छ । अहिले सबै नागरिकलाई खोप लगाइनसकेको अवस्थामा, बुस्टर डोज दिने तयारीमा किन छ सरकार ?

विश्वव्यापी रुपमा हेर्ने हो भने चार अर्बभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । नेपालमा पनि खोप अभियान तिव्र रुपमा चलिरहेको अवस्थामा पहिलो मात्रा १ करोड तीन लाख २५ हजार भन्दा बढीले लगाएका छन् ।

पूर्ण मात्रा खोप भने ८६ लाख ६७ हजार भन्दा बढीले लगाएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । यो अनुसार ३४ प्रतिशतले एक मात्रा र २८ दशमलव ५ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

सरकारले ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य राखेको तथ्याङ्कको आधारमा हेर्ने हो भने अहिलेसम्म ६० प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप पाएका छन् । अब सरकारले यो खोपसँगै बुस्टर डोज अर्थात् तेस्रो डोज खोप लगाउने तयारी पनि गरिरहेको छ ।

सरकारको यो तयारीले सबै नागरिकलाई खोप दिइनसकेको सरकारले बुस्टर डोजमा किन जोड दिँदैछ भन्ने प्रश्न पनि उठेको छ । किनभने विश्व स्वास्थ्य संगठनले पहिले पूर्ण खोप सुनिश्चित गरेर मात्रै बुस्टर डोज अर्थात् तेस्रो डोज लगाउन सुझाएको छ । सरकारले भने रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लक्षित गर्दै बुस्टर डोज अर्थात् तेस्रो डोज लगाउने तयारी गरिरहेको छ ।

सरकारले हालसम्म दुई करोड ७३ लाख ५६ हजार ५ सय ३० मात्रा खोप विभिन्न देशबाट प्राप्त गर्यो । त्यसमध्ये १ करोड ८९ लाख ९२ हजार ९ सय ४ मात्रा खोप लगाइ सकिएको छ ।

२०२२ सम्ममा २ दुई करोड ९६ लाख ९० हजार ६ सय ४८ मात्रा प्राप्त हुने र थप ६० लाख फाइजर खोप खरिद गर्ने प्रक्रियामा भएकाले पनि सरकारले तेस्रो डोज दिने भनिरहेको छ । तर ४० प्रतिशत जनसंख्यालाई पहिलो मात्रा खोपसमेत नलगाई बुस्टर डोजको कुरा गर्दा यसले सरकार खोपको व्यवस्थापनमा जुटेको छ कि हतासमा बोलेको छ भन्ने प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *