Main News

कमल थापाको आक्रोशले कार्यकर्तामा राप्रपा फेरि फुट्ने त्रास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १९ गते २०:३९
कमल थापाको आक्रोशले कार्यकर्तामा राप्रपा फेरि फुट्ने त्रास (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापनाको ३१ वर्षपछि पार्टीको नेतृत्व संस्थापकहरुबाट युवा पुस्तामा पुगेको छ।

विगतमा महाधिवेशनपछि पार्टी फुटतर्फ गएको तीतो अनुभव बटुल्दै आएका नेता–कार्यकर्ताहरु यो पटक पनि अध्यक्षमा कमल थापा पराजित भएपछि उहाँले राजेन्द्र लिङदेनलाई अध्यक्ष स्वीकार गर्नुहोला र पार्टी एक होला की फेरी फुट्ला भन्नेमा चिन्तत छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गर्नुभयो ।

महाधिवेशन अघि पार्टीमा थापासहित पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षको जिम्मेवारीमा हुनुहुनथ्यो । राणा र लोहनी सहभागी उक्त कार्यक्रमलाई थापाले बहिस्कार गरेपछि राप्रपा फेरि एक भएर अघि बढ्ला की पुनः विभाजमा जाला भन्ने आशंका पार्टीपंक्तिमा उब्जिएको छ।

पार्टी फुट्ने र जोडिने क्रम चलिरहँदा लिङदेनले अब युवा पुस्ताले ‘नयाँ राप्रपा’ बनाउन नेतृत्व पाउनुपर्ने बताउनु भएको थियो । उहाँको आह्वानलाई कार्यकर्ताले स्वीकार गरे । अध्यक्ष निर्वाचित भएसँगै लिङ्देनले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने उद्घोष गर्नुभएको छ।

उसो त अध्यक्षमा पराजित कमल थापाले पनि राप्रपालाई अब कहिल्यै नफुटाउने बाचा गरिसक्नु भएको थियो । उहाँले प्रजातान्त्रिक प्रक्रियाबाट पार्टीको नेतृत्वमा जो पुगे पनि पार्टी एक ढिक्का बनाएर अघि बढाउने बाचा गर्नुभएको थियो ।

महाधिवेशन अघि यस्तो अभिव्यक्ति दिएका थापा महाधिवेशनमा पराजित भएपछि आफ्नो हारलाई सहजै स्वीकार गर्न तयार नदेखिँदा कार्यकर्तामा पार्टी विभाजनको त्रास पैदा भएको हो । आफ्नो हारपछि थापाले पूर्वराजा ज्ञानेन्द्रले षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ ।

हरेक पटकका महाधिवेशनपछि राप्रपा विभाजन हुने गरेको इतिहास छ। २०५४, २०५९, २०७१ र २०७३ सालमा भएका महाधिवेशनपछि पार्टी फुटतर्फ गएको थियो। २०७६ सालमा राप्रपा र राप्रपा संयुक्त एक भएर राप्रपा बनेपछि भएको एकता महाधिवेशनले पार्टीलाई थप बलियो बनाउछ कि फुटकै विरासतलाई शिरोपर गर्छ त्यो भने समयले नै बताउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *