Main News

विभिन्न देशबाट फर्किएका यात्रुबाट ६७ केजीभन्दा बढी सुन जफत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १९ गते २०:३०
विभिन्न देशबाट फर्किएका यात्रुबाट ६७ केजीभन्दा बढी सुन जफत (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विभिन्न देशबाट नेपाल फर्किएका यात्रुबाट ६ दिनमा ६७ केजीभन्दा बढी सुन जफत गरेको छ ।

विदेशबाट नेपाल फर्कने यात्रुहरुले काँचो सुनलाई बाला, बेरुवा औंठीको स्वरुप दिएर गैरकानूनी रुपमा ल्याएकाले जफत गरिएको हो । यसबाट ६ दिनमा करिब ५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

तोकिएको परिमाणभन्दा बढी सुन लगाएर तथा लिएर आउने १ हजार ४ सय २० जना यात्रुबाट ६७ केजी ४ सय ५० ग्राम सुन विमानस्थल भन्सार कार्यालयले जफत गरेको छ ।

शनिबारसम्म ५० किलो सुन राजस्व भुक्तानी गरेर निकासा गरिएको छ भने बाँकी १७ केजी सुनको राजस्व महसुल भुक्तानी भएको छैन् । यसबाट सरकारलाई ४ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

कानूनी व्यवस्था अनुसार व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसुकै स्वरुपको सुन अधिकतम एक सय ग्रामसम्मलाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने तथा त्यसभन्दा बढी परिमाणको सुन जफत गरिने व्यवस्था छ ।

तर पछिल्लो समय विदेशबाट फर्कनेहरुले अस्वभाविक रुपमा सुन भित्र्याउन थालेपछि कार्यालयले मंसिर १३ देखि कडाइ गर्न थालेको हो । पहिलो दिन नै कार्यालयले ४ सय १५ जनाबाट २० केजी ७५ ग्राम सुन बरामद गरेको थियो ।

सबैभन्दा बढी सुन दुबईबाट आउने यात्रुले ल्याउने गरेका छन् । त्यहाँबाट आउने अधिकांशले सुनको बाला बनाएर ल्याउने गरेको पाइएको छ ।

केही दिनका लागि भिजिट भिसामा गएकाहरुले समेत परिमाणभन्दा बढी सुन ल्याउन थालेपछि विभागले अपरिचित वा सामान्य परिचित व्यक्तिले दिएको सामग्री लिएर नआउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *