रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

रासस
२०७८ मंसिर १९ गते ९:५२

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

१९ मंसिर २०७८ ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ ।

मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्काे छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याउन लागिएको हो ।

यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आउँदो बिहीबार रातो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यस दिन बिहान साङ्केतिकरूपमा भगवान्लाई हल्लाएर दिउँसो बोकेर पाटन ल्याइनेछ ।”

मच्छिन्द्रनाथलाई पाटन ल्याउनुअघि केही कार्य गर्नुपर्ने भएकाले शनिबार भैरवनाथको पूजा र आज कुमारी अनि मच्छिन्द्रनाथको समेत पूजा गरिने मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यी कार्यसँगै बुङ्मतीबाट पाटन पठाउनु चार दिनअघि मच्छिन्द्रनाथको रङरोहन अनि भोलि होम र बलि पूजा आदि गर्नेछाँै ।”

सो दिन गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ जना पूजारी अर्थात् पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मी र काठमाडौँ उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याउने ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारीदिनुभयो ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

मच्छिन्द्रनाथको वर्ण
रातो मच्छिन्द्रनाथ अर्थात् रक्तावलोकितेश्वरको वर्ण अरुणावर्ण छ । दुई ठूला–ठूला आँखा छन् । दबिएको नाक छ । उचाइ चार फुट लामो छ । पवित्र माटो (मृत्तिका, तेराकोटा)बाट बनेको मूर्ति सुन्दर र भव्य देखिन्छ । शिरमा रत्नमुकुट, निधारमा टीका र कानमा रत्नजडित गहनाले मूर्ति सुसज्जित भएको छ । घाँटीमा कर्काेटनागको रत्नमाला, हातमा चुरा र बाला र खुट्टामा कल्ली सुशोभित छन् । दाहिने हात वरद मुद्रामा छ । बायाँ हातमा कमलको फूल छ । लोकनाथ विराजमान हुने विहार ललितपुरको तःबहाल र बुङ्मतीको मन्दिर दुवै उत्तरतिर फर्केका छन् । यसैले मूर्ति जहिले पनि उत्तराभिमुख गरी राखिने भएको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ ।

नेपालको सबभन्दा ठूलो जात्रामध्ये करुणामयको रथ तान्नु पनि एक हो । समस्त प्राणीको उद्धारकर्ता करुणामयको जात्रा परापूर्वकालदेखि राजकीय सम्मानका साथ मनाइँदै आएको इतिहास छ ।

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिएको पाटन निवासी ७१ वर्षीय सूर्यमान डङ्गोलले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs