राजनीति

कांग्रेस अधिवेशन: प्रदेश २ मा गोली प्रकरणदेखि अपहरणसम्म (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १८ गते २०:५३
कांग्रेस अधिवेशन: प्रदेश २ मा गोली प्रकरणदेखि अपहरणसम्म (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर १६ गते सातवटै प्रदेशको अधिवेशन एकैसाथ उद्घाटन गर्नुभयो । नयाँ नेतृत्व चयनका लागि ६ वटा प्रदेशले प्रक्रिया आरम्भ गरे तर, वडा र स्थानीय तहदेखि नै विवादमा रुमलिएको प्रदेश २ गोली प्रकरणदेखि अपहरणसम्मका घटनामा मुछियो । ६ वटा प्रदेशमा नयाँ कार्यसमितिका लागि निर्वाचन प्रक्रिया अघि बढाईंदा प्रदेश २ को अधिवेशन नै स्थगित भएकोछ ।

नेपाली कांग्रेसको प्रदेश अधिवेशन जारी रहँदा प्रदेश २ भने अपवादमा परेको छ । वडा, स्थानीय तह र जिल्ला अधिवेशनको अन्योलले प्रदेश अधिवेशन पनि रोकिएको छ । चलचित्रमा देखाइने दृश्य जस्तै प्रदेश २ मा गोली प्रकरणदेखि अपहरणसम्मका घटना भएका छन् ।

गत मंसिर १२ र १३ गते सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका वडा नम्बर ८ मा गोली चल्यो । कांग्रेसको वडा अधिवेशनका क्रममा झडप भएपछि प्रदेश मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले हवाइ फायर गरे । त्यसकै भोलिपल्ट कांग्रेस कार्यकर्ताहरु भिडन्तमा उत्रिएपछि प्रहरीले अश्रु ग्यास र हवाइ फायर गर्नुपर्‍यो । यो एउटा घटना हो ।

गुटउपगुटमा विभाजित नेताहरुका आ–आफ्नो समूह झडपमा उत्रिनु प्रदेश २ मा सामान्य जस्तै बनेको छ । गोलीकाण्ड मात्र होइन, महोत्तरीमा त निर्वाचन अधिकृतले आफ्नो अपहरण नै गरेर प्रतिनिधि छनौट जवरजस्ती गराइएको आरोप नै लगाएका छन् ।

महोत्तरीको क्षेत्र नम्बर ३ का मतदान अधिकृत धीरेन्द्र मण्डलले आफूलाई अपहरण गरेर निर्वाचित प्रमाणपत्रमा जबर्जस्ती हस्ताक्षर गराइएको आफ्नो राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । उहाँले कांग्रेसको जिल्ला निर्वाचन अधिकृतलाई राजीनामा बुझाउँदै प्रतिनिधिका प्रमाण–पत्र रद्द गर्न अनुरोध गर्नुभएको छ ।

यी दुई घटनाले प्रदेश २ को राजनीतिलाई अपराधकरणतर्फ लैजाँदै त छैन भन्ने चिन्ता सुरु भएको छ । एउटा पार्टीको आन्तरिक प्रतिष्पर्धामा देखिएका यस्ता अपराधिक घटनाले अब आउने निर्वाचनहरु कतिको शान्त बन्न सक्लान ? चिन्ता र चासोको विषय बन्दै गएको छ ।

राजनीतिलाई अपराधिककरण गर्न नहुने नेताहरु नै बताउने गर्छन तर, आफ्नो बर्चश्वका लागि जुनसुकै हदसम्म जान पनि नेता तत्पर रहने प्रदेश २ मा भएका कांग्रेस अधिवेशनका घटनाहरुले पुष्टि गरेको छ ।

विपीको मेलमिलापको आदर्श कांग्रेसले तल्लो तहबाटै भत्किँदै जान थालेको छ । यसमा न पार्टी सभापति शेरबहादुर देउवाकै चिन्ता छ न आदर्शवादी भनिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई चासो छ । यसले कांग्रेस मात्र होइन, प्रदेश २ को राजनीतिलाई विकृत बनाउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्