राजनीति

कांग्रेस प्रतिनिधिमा युवाको उल्लेख्य प्रतिनिधि, नेतृत्वमा पुरानै दोहाेरिने संकेत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १७ गते २०:४७
कांग्रेस प्रतिनिधिमा युवाको उल्लेख्य प्रतिनिधि, नेतृत्वमा पुरानै दोहाेरिने संकेत (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनका लागि ठूलो संख्यामा युवा प्रतिनिधिका रुपमा चयन भएका छन् ।

प्रतिनिधि छनोटमा आम कार्यकर्ता र पार्टीपंक्तिको विश्वास जित्न सफल भए पनि नेतृत्वमा पुग्नबाट भने युवाहरु सधैं बञ्चित हुने गरेको पाइन्छ । यो प्रवृत्ति यसपटक पनि दोहोरिने देखिएको छ ।

देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस केन्द्रीय महाधिवेशनको मुखैमा छ । वडा, स्थानीय तह, क्षेत्र, जिल्ला हुँदै अहिले प्रदेश अधिवेशन जारी छ । यसपटक ४० प्रतिशतभन्दा बढी युवाहरु महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिका रुपमा युवाहरुको उल्लेख्य उपस्थितिले अब युवाहरु नेतृत्वमा पुग्छन् कि भन्ने सन्देश सञ्चार हुनु स्वभाविक हो । वर्षौँदेखि पुस्तान्तरणको चर्चा भइरहने तर प्रतिनिधिका रुपमा पुरानै पुस्ता आउँदा कांग्रेसमा नयाँ पुस्ताले अवसर पाउने गरेको थिएन ।

त्यसैले प्रतिनिधिमै नयाँ पुस्ता आएपछि यो पुस्ताले युवालाई नै पार्टीको नेतृत्वमा पुर्‍याउनु पर्ने हो । तर नेपालका परम्परागत राजनीतिक दलसँग यस्तो अपेक्षा गर्नु फगत दिवा-स्वप्न मात्रै हुन जान्छ ।

कांग्रेसको १२ औँ महाधिवेशनमा युवा नेता गगन थापा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो । थापा निर्वाचनमा भिडेर लोकप्रिय मत हासिल गर्दा पुस्तान्तरणको सञ्चार भएको थियो । त्यसपछिको १३ औँ महाधिवेशनमा यही पुस्तान्तरणको सञ्चार र विश्वासले हुन सक्छ थापाले महामन्त्री मदमा दाबी गर्नुभयो र चुनावी मैदानमा उत्रिनु भयो ।

पार्टीका परम्परागत गुटहरुको टिममा नपरेका उहाँ पार्टी सभापतिका प्रत्याशी कृष्ण सिटौलाको टिमबाट महामन्त्री पदमा उम्मेदवार बन्नुभयो । अघिल्लो महाधिवेशनको जस्तो उत्साजनक भोट उहाँले पाउन सक्नु भएन, पराजित हुनुपर्‍यो । संविधानसभा सदस्यकै रुपमा पनि राम्रो छाप छोडेका थापा पार्टीको निर्वाचनमा विजयी हुन सक्नु भएन ।

पार्टीभित्रको चुनाव जित्न जनताको भन्दा पार्टीकै नेताको मन जित्नुपर्ने र बलियो गुटमा पर्नुपर्ने दृष्टान्तका रुपमा थियो, उहाँको पराजय। यसपटकको महाधिवेशनबाट पनि पार्टीभित्रका प्रभावशाली अधिकांश पदहरुमा पुरानै नेताहरुको बर्चश्व हुने देखिएको छ ।

कांग्रेसमा अहिलेसम्म सभापतिका आकांक्षीहरुले मात्र आफ्नो उम्मेदवारी दाबी गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा फेरि सभापतिमा दोहोरिन कम्मर कसेर लाग्नु भएको छ । अघिल्लो महाधिवेशनमा विमलेन्द्र निधिलाई अर्को महाधिवेशन पर्खन बचन दिएका देउवा त्यो बचन तोडेर सभापतिको दौडमा उत्रिनु भएको छ ।

उहाँसँग सभापतिमा भिड्न तयार देखिएकाहरु पनि धेरैजसो पुरानै अनुहार छन् । अघिल्लो पटक पराजित भएका वरिष्ठ नेता रामचन्द्र पौडेल जसरी पनि सभापतिको कुर्सीमा पुग्ने धोको बोकेर दौडधुपमा हुनुहुन्छ । प्रकाशमान सिंह, शेखर कोइराला पनि अब यसपछि के हुन्छ के हुन्छ यसैपटक भिड्नुपर्छ भनेर आफ्नो सबै शक्ति खर्चिएर दौडिनु भएको छ ।

कुनै पनि टिमबाट पार्टी सभापतिमा युवा भन्न लायक अनुहारको चर्चा भएको छैन । त्यसो त पार्टीका उपसभापति, महामन्त्री, सहमहामन्त्री र मनोनित हुने कोषाध्यक्ष कुनै पनि पदमा युवाको चर्चा छैन । पार्टी केन्द्रीय कार्य समितिमा ठूलै संख्यामा रहेका युवा मानिने नेताहरु पनि पदाधिकारीको दौडमा देखिँदैनन् ।

अनि भोट हाल्न आउने ४० प्रतिशतभन्दा बढी युवा प्रतिनिधिले चाहेर नचाहेर पुरानै अनुहारहरुको नाममा ल्याप्चे लगाइदिनुपर्ने बाध्यता छ । हरेक बहस, छलफल, सभा, सम्मेलनहरुमा युवा, परिवर्तन, नयाँ पुस्ता जस्ता गफ गरेर नथाक्ने तर नेतृत्वमा पुरानैहरुको रजगज दोहोरिने प्रचलन कांग्रेसमा पुरानो भइसकेको छ ।

पार्टीकै चुनावमा हुने अस्वस्थ प्रतिस्पर्धा, पैसा र बाहुबलीको अनियन्त्रित प्रयोग र दाइहरुको आशिर्वाद नकार्न नसक्ने परमआज्ञाकारी सोचका कारण थुप्रै युवाहरु आफैमाथि भरोसा गर्न नसक्ने अवस्थामा छन् । यही कारणले पटकपटक परीक्षण भइसकेका नेताहरु नै मुख्य पदहरुमा विराजमान हुने र युवाहरु फेरि पनि पाखा लाग्ने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्