१४औं महाधिवेशनअन्तर्गत कांग्रेसको प्रदेश अधिवेशन शुरु हुँदै

१६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन शुरु हुँदैछ ।
कांग्रेसले आज सातै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन गर्ने भएको हो। सात प्रदेशका अधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
प्रदेश १ को अधिवेशन विराटनगर, २ को जनकपुर, बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ।
अधिवेशनले पहिलोपटक कांग्रेसको प्रदेश कार्यसमिति चयन गर्नेछ। उम्मेदवारको मनोनयन भने भोलि मात्र दर्ता गर्ने कार्यसूचि रहेको छ ।
सातै प्रदेशमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरु प्यानलसहित चुनावी मैदानमा उत्रदै छन् ।
प्रतिक्रिया