राजनीति

नेपाली कांग्रेसको महाधिवेशनमा विकृति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १५ गते २१:०९
नेपाली कांग्रेसको महाधिवेशनमा विकृति (भिडियो रिपोर्टसहित)

१५ मंसिर २०७८ काठमाडौं । नेपालमा हुने राष्ट्रिय निर्वाचनमा ठूलो धनराशी खर्च गर्ने, कतिपय अवस्थामा धाँधली गर्ने, गुण्डागर्दी गरेर चुनाव जित्ने रोग केही वर्षयता बढेर गएको छ । राष्ट्रिय निर्वाचनमा बढ्दै गएको यस्तो विकृति नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनसमेत देखिएको छ ।

गत मंसिर १२ गते सर्लाहीमा भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहका अगंरक्षकले गोली चलाएका थिए । मंसिर १३ गते पनि सोही स्थानमा झडप हुँदा निर्वाचन अधिकृत सहित पाँच जना घाइते भए ।

सर्लाहीमै मंसिर ३ गते जिल्लाको अधिवेशन गराउन आएका निर्वाचत अधिकृत नै कुटिए । त्यस्तै मंसिर १० गते दार्चुलाको जिल्ला अधिवेशनको मतगणना स्थलमै झडप हुँदा चार जना घाइते भए ।

यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा लोकतान्त्रिक अभ्यासको नाममा के कस्ता विकृति भित्राइएको छ भन्ने बुझ्‍नका लागि यी घटना नै प्रयाप्त छन् ।

सके सहमति गर्ने, नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियाद्वार निर्वाचन गरी नेतृत्व चयन गर्ने परिपार्टी अबलम्बन गर्नुको साटो आफू हार्ने देखिएका स्थानमा भोजभतेर गर्ने, मतदातालाई पैसा बाड्नेदेखि हुलहुज्नत गर्नेसम्मका हर्कत कांग्रेसको तल्लो तहका अधिवेशनहरुमा देखिएको छ ।

जानकारहरुका अनुसार जिल्ला सभापति हुनकै लागि करोड रुपैयाँसम्म वितरण गरिएको छ । मतदातालाई स्वविवेक प्रयोग गर्न दिनुभन्दा पनि प्रलोभनमा पारेर आफ्नो पक्षमा मतदान गर्न लगाउने जस्ता विकृति अधिवेशनमा देखिएका छन् । मनी र मसल्सको प्रयोगबाट नेतृत्वमा पुग्ने परिपाटीले भोलिको दिनमा कांग्रेसलाई मात्रै नभएर देशका लागि पनि राम्रो नगर्ने विश्लेषकहरुको भनाइ छ ।

नेपाली कांग्रेसको तल्लो तहदेखि नै अधिवेशनमा जुन खाले बिकृति देखिएको छ, केन्द्रीय महाधिवेशनमा यो क्रम झन बढेर जाने देखिन्छ । यसपटकको महाधिवेशनबाट ठूलो संख्यामा युवा प्रतिनिधि निर्वाचित भएको भनिएको छ, तर युवा पुस्तामा पनि पुराना पुस्ताको रोग सरेको विश्लेषकको धारणा छ ।

नेपाली कांग्रेसको महाधिवेशनमा देखिएको विकृति सुधार गरेर नजाने हो भने पार्टी सुदृढ हुन पनि नसक्ने र अग्रगमनतर्फ जान नसक्ने विश्लेषक बताउछन् । दलको आन्तरिक प्रतिस्पर्धामा त यस्तो विकृति हुन्छ भने अव निकट समयमै तीनवटै तहका निर्वाचन हुँदैछन् ।

ती निर्वाचनमा कस्तो उश्रृंखल गतिविधि होलान् ? सहजै अनुमान लगाउन सकिन्छ । ठूलो धनराशी खर्च गरेर चुनाव जित्ने र पदमा पुगेपछि भ्रष्टाचार गरि निर्वाचनमा खर्च भएको रकम असुल उपर गर्ने प्रवृतिले देशमा भ्रष्टाचार बढ्ने गरेको छ । यो तहको विकृतिले भ्रष्टाचार मात्रै नबढेर मंहगी बढ्दा उपभोत्ताको ढाड सेकिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्