Main News

जुम्लामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते

हिमालय टिभी
२०७८ मंसिर १५ गते १३:५६
जुम्लामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते

१५ मंसिर २०७८ कर्णाली । जुम्लाको सिञ्जा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ना ६ ख ४४३८ नं को बस आज बिहान करिब ८ बजे दुर्घटना भएको हो ।

कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज जाँदै गरेको बस सिञ्जा–१ थार्पीबाडास्थित सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्ईंले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा परी गुराँस गाउँपालिका दैलेख निवासी ३२ वर्षीय बस चालक नवीन रावल र पचाल झरना गाउँपालिका कालीकोट निवासी ३२ वर्षीय विशाल बमको मृत्यु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बसमा चारजना सवार थिए । दुर्घटनाको जानकारी पाउने बित्तिकै घाइतेको तत्काल उद्धार गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकको नेतृत्वमा नौ जनाको प्रहरी टोली त्यसतर्फ पठाइएको उहाँले जानकारी दिनुभयो । घटनास्थलमा प्रजिअ प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ र प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द घटनास्थलतर्फ जानुभएको छ ।

उक्त दुर्घटनामा परी टाउकामा चोट लागेर गम्भीर घाइते भएका कनकासुन्दरी–७ जियापाटा निवासी ३२ वर्षीय वीरबल घर्ती र सो गाउँपालिका रोकायाबाडा निवासी ४० वर्षीय उब्जी कार्कीलाई उपचारका लागि लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एम्बुलेन्स घटनास्थल पुगेर फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *