राजनीति

एमाले ‘राजनीतिक दल’ भन्दा ओलीको ‘कम्पनी’ भन्ने आरोप यसरी भयो पुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १४ गते २१:१५
एमाले ‘राजनीतिक दल’ भन्दा ओलीको ‘कम्पनी’ भन्ने आरोप यसरी भयो पुष्टि (भिडियो रिपोर्टसहित)

१४ मंसिर २०७८ चितवनं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसरी चलाउँदै आउनुभएको छ भन्ने चितवनमा छर्लङ्ग भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले नेकपा एमालेलाई दलका रुपमा भन्दा कम्पनीकारुपमा चलाएको आरोपलाई १० औं महाधिवेशनले थप पुष्टि गरेको विश्लेषकहरुको भनाइ छ ।

पाँच लाख मानिस उतारेर उद्घाटन गर्ने उद्घोषका साथ महाधिवेशन कस्तो हुन्छ हेर्न आउन अन्य दलका नेतालाई मन्त्रणा गर्नुभएका ओलीले यस्तो पनि महाधिवेशन हुँदोरहेछ भन्ने उदाहरण पेश गर्नुभएको छ ।

अन्य दलमा टिके पद्धति अपनाइएको आरोप लगाउँदै एमालेलाई चरम लोकतान्त्रिक दाबी गर्ने ओलीको अभ्यासबाट कार्यकर्ता र ओलीभक्त समेत लज्जित भएको आलोचकहरुको टिप्पणी छ । ओलीले उद्घाटन सत्रदेखि बन्दसत्रसम्मलाई बन्दक बनाएर महाधिवेशनको मन्चन गरेको नाटकले ओलीका भक्तहरु पनि जवाफविहीन बनेका छन् ।

महाधिवेशनभन्दा एक दिन अगावै चितवन झर्नुभएका ओलीले चार तारे होटलको सयन कक्षबाटै पार्टी महाधिवशेन चलाउनु भयो । बन्दसत्र, महाधिवेशन प्रतिनिधी, चुन्ने र चुनिने अधिकार भनेको पनि आफँै भनेर ओलीले महाधिवशेन प्रतिनिधीको सार्वभौम अधिकारको पनि खिल्ली उडाउनु भयो ।

आफैले आयोजना गरेको उद्घाटन सत्रमा पाहुनभन्दा ढिलो पुग्नुभएका ओलीले कम्तिमा आफ्ना नाममा कागजी मुर्कट्टा भने नारायणी किनारमा प्रदर्शन गर्न लगाउनु भएन । उद्घाटन सत्रमा वृत्तचित्र भनेर प्रस्तुत गरिएको १० मिनेटको श्रव्यदृष्य सामाग्री ओली भक्तीको गायत्री मन्त्र थियो । एउटा लोकतन्त्र र दलीय व्यबस्थामा विश्वास गर्नेले समेत लजाउनुपर्ने भक्तीगानमा समेत ओली मुस्काइरहनुभएको थियो ।

बन्द सत्रका नाममा महाधिवेशन प्रतिनिधीलाई दिनभर घाममा विस्कुन सुकाउने र आफूपक्षीय नेतासहित होटलको वातानुकुलित सयन कक्षमा आराम गर्ने ओलीले मध्यरातमा साँस्कृतिक कार्यक्रमको नाममा पनि उहाँकै महिमा गान सुनेर निद्रा बिर्साउनुभयो ।

समय तालिकाको पटक्कै हेक्का नगर्ने शैलिले बसिभुत ओलीले मुस्किलले केही घण्टामात्र महाधिवेशनस्थलमा बिताउनुभयो । पार्टीका आफ्ना आलोचकको छानीछानी तेजोबध गर्न लगाउनुभएको आरोप लागेका ओलीले असहमत नेतासँग सामान्य कुराकानी समेत गर्नुभएन । ओलीले पार्टीको निर्वाचन आयोग र निर्वाचन नियमावलीलाई पनि खल्तीको रुमाल बनाउनुभयो ।

बन्दसत्रमा हुने छलफल बन्द कोठामा गर्ने अध्यक्ष ओलीले कहिँ नभएको जात्रा आफैं अध्यक्षको उम्मेदवार भएर आफ्नै नाम सहित ३०१ सदस्यीय केन्द्रीय समिति घोषणा गर्ने प्राधिकार समेत लिनुभयो ।

हजार प्रयास गर्दा पनि सर्वसम्मत हुने सम्भावना नदेखेपछि ओलीले प्रतिष्पर्धी भिम रावलसहितका नेतालाई भोट नहाल्न चिट बाँड्न लगाउनु भयो ।

अध्यक्षका प्रत्यासी भीम रावलविरुद्ध चितवन झरेकै दिन नारावाजी गर्न लगाएका ओलीले उहाँका निर्वाचन सामाग्री खोस्न लगाउने र शरीर खानतलासी गर्न लगाएर पार्टीभित्र असहमत हुनेमाथि के सम्म गर्न सक्नुहुन्छ भन्ने दृष्टान्त समेत दिन भ्याउनुभयो । उद्घाटन सत्रमा आफ्नै महिमा गान गर्नभएका उहाँले बन्दसत्रमा दुईघण्टा एक्लै बोल्नुभयो, आफ्ना प्रतिष्पर्र्धालाई माइक समेत दिनुभएन, उहाँको फरकमतलाई रद्धीको टोकरीमा मिल्काउनुभयो ।

खल्तीबाट चिर्कटो वाचन गरेर ल्याएका महाधिवेशन प्रतिनिधीको समेत विश्वास नलागेर निर्वाचन संहिता विपरित लिस्ट बाँड्नुले ओलीले खुल्ला छाडेका भए उहाँका अधिकाँश उम्मेदवार पराजित हुने सहजै आँकलन गर्न सकिन्छ । आफू निकटका लागि बम्पर दिने र पार्टीमा बर्षौ खटेकलाई उल्टो खुट्टा फर्काउने ओली शैलिले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दाबीलाई पुष्टि गरेको छ ।

सचिवमा ओलीकै कृपाले सूचिमा समेटिएका १० भाइमध्येका एक नेताले नै ओलीकृत्यका कारण एमाले पार्टीभन्दा ओली मालिक रहेको प्राइभेट कम्पनी भनेका छन् । पक्कै पनि लोकतन्त्रका लागि १५ बर्ष जेल बसेका र ५० बर्ष संघर्ष गरेका भनिएका ओलीले कम्तिमा पनि सौराहा यात्रालाई समिक्षा गर्न जरुरी छ। शक्तिमा हुँदा त सबैको भक्तिगान हुन्छ नै, इतिहास कसरी लेखिन्छ आँकलन गर्ने कि ?

प्रतिक्रिया

One thought on “एमाले ‘राजनीतिक दल’ भन्दा ओलीको ‘कम्पनी’ भन्ने आरोप यसरी भयो पुष्टि (भिडियो रिपोर्टसहित)

  1. हिमालय टेलिभिजनका पत्रकार महाशय,
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) भन्ने राजनीतिक दल निर्वाचन आयोयमा दर्ता भएको छ कि कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको छ????????????? हेरर, बुझेर, सोचेर, मनन गरेर पो लेख्ने हो कि???? कम्पनी र दल बिचको फरक थाहा छ कि छैन महासय???? तपाईँलाई मन परेन भन्दैमा रत्यौली शैलिमा लेख्न पाइन्छ त ??? लगभग आठ लाख सदश्यहरुले लगभग बाईस सय महाधिवेशन प्रतिनिधि छाने र ती मध्ये अठार सय (लगभग ९०%) ले के पि शर्मा ओलीलाई भोट दिएर जिताए पछि कसरी कम्पनी भयो??? लाज सरम, घिन, डर लाग्दैन पत्रकार महाशय????? कि दस % मत ल्याउने भिमबहादुर रावललाई जिताउनु पर्थ्यो कि के भन्न खोज्नु भएको हो???? के पि शर्मा ओलीले तपाईंको पिँडालुबारी फाँडेको त छैन होला । विधानअनुसार महाधिवेशनले निर्णय गरेपछि तपाईँलाई कटक्क टाउको दुख्नु पर्ने कारण के हो??? तपाईं महाधिवेशन भन्दा ठूलो हो??? हैन भने कम्पनी हो वा दल हो भन्ने कुरा छुट्याउन निर्वाचन आयोगमा जानुहोस् । हैन चित्त बुझ्दैबुझेन भने ओलीको दल कम्पनी भएको चित्त बुझेन भने “अदालत” गए हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्