Main News

एमाले महाधिवेशन : १ बजेपछि मतगणना, गणना सुरु भएको २ घण्टामा परिणाम

हिमालय टिभी
२०७८ मंसिर १४ गते १२:४७
एमाले महाधिवेशन : १ बजेपछि मतगणना, गणना सुरु भएको २ घण्टामा परिणाम

१४ मंसिर २०७८ चितवन । सौराहमा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो । निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।

महाधिवेशनमा दुई हजार ९२ जनाले मतदान गरेका उहाँले बताउनुभयो । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो ।

निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताउनुभयो । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *