एमालेमा गुटबन्दी: पन्छाउन खोज्दा झनै बढ्ने जोखिम(भिडियो रिपोर्टसहित)
१३ मंसिर २०७८ काठमाडौं । एमालेमा गुट अन्त्यका नाममा फरक विचार राख्नेलाई किनारा लगाउन खोज्दा जारी महाधिवेशनमा चरम असन्तुष्टि देखिएको छ । सहमतिको खाका भन्दै अध्यक्ष ओलीले तयार गरेको केन्द्रीय कमिटीमा असहमति राख्नेले निर्वाचनमा मनोनयन दर्ता गराएपछि अन्त्य गर्न लागिएको गुट संस्कृति झनै बढ्ने खतरा देखिएको छ ।
नेकपा एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्त भन्ने गरेको छ । २०७५ सालमा माओवादीसँग पार्टी एकीकरण गर्दा जबजलाई झण्डैझण्डै छोडेको एमाले फेरि जबजकै नारामा फर्कियो ।
माओवादी पनि जबजले जनवादी केन्द्रीयतालाई आत्मसाथ गरेको भन्दै जबज स्वीकार गर्न तयार भयो । जबजको सिद्धान्तअनुसार नेतृत्व चयन गर्दा आन्तरिक लोकतन्त्रलाई प्रधानता दिइन्छ । नेतृत्वमा श्रमजीवी वर्गको प्रतिनिधित्वमा जोड दिइन्छ । श्रमजीवी वर्गको पक्षमा समाजलाई रुपान्तरण गर्ने कुरालाई जबजले अंगीकार गरेको छ ।
आफूलाई जबजवादी, मदनवादी, मार्क्सवादी वा लेनिनवादी जे भने पनि एमालेले दशौँ महाधिवेशनबाट नेतृत्व चयन गर्दा आफूलाई ओलीवादी साँचोमा ढाल्यो । यो साँचोबाट एमालेले यसअघि पूँजीवादी चरित्र भनेर प्रस्तुत गर्ने गरेका तस्बिरहरु जस्तै मूर्तिहरु तयार पारिए ।
एमालेमा ओलीवादी साँचोबाट बनाइएका सबै मूर्तिहरु अहिले अध्यक्षले बाँड्ने पदमा आफूलाई विराजमान गराउँदैछन् । यी मूर्तिहरुको कुनै आवाज, भावना र विचार छैन । आफ्नो विचार, आवाज र भावना भएकाहरु अहिले एमालेभित्र बहिस्कृत छन् ।
नवौँ महाधिवेशनमा भएको चुनावी प्रतिस्पर्धाले पार्टीमा गुट उपगुटहरु जन्मिएको, जसका कारण दशौँ महाधिवशेन आइनपुग्दै पार्टी विभाजन भएको रहस्य पत्ता लगाएका अध्यक्ष ओली र उहाँका मूर्तिवत पदाधिकारीहरु अहिले पार्टीमा सहमतिको खलाती दबाइरहेका छन् । तर उनीहरुले सहमतिका लागि नारायणी किनारबाट सौराहसम्म तीन दिन, तीनरातसम्म गरेको परिश्रम कति समय टिकाउ हुन्छ भन्ने प्रश्न जबरजस्त रुपमा उब्जिएको छ ।
यतिबेला नेकपा एमालेले सहमतिकै अभ्यासलाई लगभग सार्थकता दिएको मान्दा पनि केही पदमा निर्वाचन हुने नै भएको छ । यो निर्वाचनले नै अब एमालेमा फेरि एक होइन विभिन्न गुटहरु जन्मिने संकेत गरेको छ । केपी शर्मा ओलीले अध्यक्षका रुपमा आफूलाई उभ्याएर ३ सय १ सदस्यीय प्यानल घोषणा गरेपछि यो प्यानलमा सहमति नजनाउने थुप्रै नेताले आफूले चाहेको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका ३० भन्दा बढी आकांक्षीको न कुनै प्यानल छ न कुनै सर्वमान्य नेता । गुटहरु जन्मिने प्रक्रिया नै यसरी हो । यिनै हरेक पदका आकांक्षीहरुलाई आफ्नो आदर्श मान्ने समूह पछि लाग्यो, एकजुट बन्यो भने त्यसबाट जन्मिने समूह नयाँ गुटका रुपमा एमालेमा देखिने नै छ ।
अर्कोतर्फ जबजलाई नै सहीरुपमा व्याख्या गरेर पार्टी सर्कलमा पुर्याउन सक्ने र आन्तरिक जबजको सुन्दरता नै आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धा हो भनेर बुझाइदिन सक्ने व्यक्तिले नयाँ गुटको नेता बन्ने योग्यता पक्कै राख्नेछ । यस्ता समूहलाई गुट भन्ने वा पार्टी फुटाउनका लागि तयार भएका विध्वंशकारी भन्ने वा फरक मत र आलोचनात्मक चेत भएका व्यक्तिहरु भन्ने रु आ–आफ्ना परिभाषा हुन सक्छन् ।
पार्टीको नेतृत्वमा भएको व्यक्तिले जे सोचिरहेको छ, सबैले त्यही सोच्नुर्पछ भन्नेस्तरकै विचार र संगठन बनाउन लागियो भने यस्तो संगठन समाजका अगुवाहरुको होइन बुख्याँचाहरुको पार्टी मात्र बन्ने छ । नेतृत्वलाई सुझाव दिने, नयाँ विचार दिने, विश्वव्यापीकरणलाई अपनाउने, आलोचना र समालोचनालाई नियमित प्रक्रिया हो भनेर बुझ्ने नेतृत्वले मात्र पार्टीलाई मदन भण्डारीले कल्पना गरेको मार्गमा अगाडि बढाउन सक्छ ।
यो मदन भण्डारीको विचार मात्र होइन, सापेक्षाताको सिद्धान्त पनि यही हो । तर फरक सोच, विचार र व्यक्तिलाई कोपिलामै निमोठेर पीपललाई पनि सल्लाको रुख जस्तो बनाउँछु भनेर हाँगा काट्न लाग्ने वा सल्लालाई पीपल बनाउँछु भनेर टुप्पो काट्न लाग्ने हो भने यसले पार्टीलाई झनै भद्रगोल र गुटहरुको महासंघ मात्रै बनाउने छ ।
प्रतिक्रिया