राजनीति

एमालेमा आकांक्षीको ओइरो, ओलीले भने–एमालेलाई सिध्याउँछु भन्नेको स्वप्न भंग भयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ११ गते १९:१५
एमालेमा आकांक्षीको ओइरो, ओलीले भने–एमालेलाई सिध्याउँछु भन्नेको स्वप्न भंग भयो (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले महाधिवेशन उद्घाटनमा देखिएको जनसहभागितालाई लिएर खुशी व्यक्त गर्नुभएको छ ।

चितवनको सौराहामा १० औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सिध्याइयो भनेर खुशी मनाउनेहरुको स्वप्न भंग गरिदिएको बताउनुभयो ।

अध्यक्ष ओलीले नेतृत्व चयनका लागि मतदान हुन नदिने संकेत पनि गर्नुभएको छ । कुनै नेताको नाम नलिए पनि ओलीले पार्टीभित्र प्रतिस्पर्धा राम्रो नहुने प्रष्ट पार्नुभयो ।

समझदारी, सहमति र एकतामा जोड दिँदै ओलीले पार्टी भित्रको प्रतिस्पर्धा मूल्यांकनको आधारमा हुने बताउनुभयो । अध्यक्ष ओलीले पार्टीको प्रतिष्ठामा धक्का पुग्ने गरी विचार नराख्न पनि नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सर्वसम्मत नेतृत्व चयन कठिन बन्दै गइरहेको समयमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उहाँले एमालेभित्र भावनात्मक एकतामा जोड दिनुभयो । अध्यक्ष ओलीले विरोधिहरुको जालझेल र षडयन्त्रका कारण पार्टी सत्तापक्षबाट प्रतिपक्षमा आएको बताउनुभयो ।

यसैबीच नेकपा एमालेको १०औं महाधिवेशनको बन्द शत्र ढिलो गरी सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा तयार गरिएको हलमा बिहान १० बजे शुरु हुने भनिएको बन्द सत्र तीन बजेपछि शुरु भएको हो । पदाधिकारी चयनमा सहमति नहुँदा बन्द शत्रमा ढिलाई भएको हो ।

अध्यक्ष केपी शर्मा ओली समूहभित्रै पदाधिकारीका आकांक्षी धेरै भएकाले व्यवस्थापनमा समस्या भएको हो । ओली निकट रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल तथा नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ लगायतबीचमै पदका लागि रस्साकस्सी छ।

माधवकुमार नेपालसँग नयाँ पार्टीमा नगई एमालेमै रोकिएको समूहबाट भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवाली लगायतको व्यवस्थापन पनि ओलीलाई सकस देखिएको छ। माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेता व्यवस्थापनको चुनौती पनि ओलीलाई ओलीलाई छ ।

बन्दसत्र स्थलमा पुग्नु अघि आफू बसेको रिसोर्टमा अध्यक्ष ओलीले पदाधिकारीमा सहमति जुटाउन आकांक्षी नेताहरुसँग छलफल गरे पनि सहमति हुन सकेन। त्यसपछि ओलीले बन्द शत्र हुने होटलमै पुगेर नेताहरुसँग छलफल गर्नुभएको थियो ।

बन्द शत्रमा महाधिवेशन प्रतिनिधि तथा विदेशी पाहुनलाई अध्यक्ष ओलीले संवोधन गर्नुभयो । यस्तै विदेशी पाहुनाहरुले पनि शुभकामना दिएका थिए । यस्तै बन्द शत्रमा विदेशका राजनीतिक दलका नेताहरुले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । भारतको कांग्रेस आईका नेता अखिलेश यादव चितवन पुगे पनि बन्द शत्र शुरु हुन ढिलो भएपछि सहभागी नभई फर्कनु भयो ।

महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले गएराति गरेको विधान संशोधनलाई अनुमोदन गर्ने छ । गएराति बसेको केन्द्रीय कमिटी बैठकले १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको थियो । बन्द शत्र ढिलो गरी शुरु भएका कारण उम्मेदवारी दर्ताको काममा पनि ढिलाई भएको छ ।

पूर्वनिर्धारित तालिका अनुसार आज उम्मेद्वारी दर्ता हुने पर्ने थियो । आज रातभरीमा बन्द शत्र सकेर अब भोलि बिहान मात्र उम्मेदवारी दर्ता गरिने नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्