Main News

एमालेको दशौँ महाधिवेशनअन्तर्गत आज बन्दसत्र चल्दै

हिमालय टिभी
२०७८ मंसिर ११ गते ९:०६
एमालेको दशौँ महाधिवेशनअन्तर्गत आज बन्दसत्र चल्दै

११ मंसिर २०७८ चितवन । नेकपा एमालेको राष्ट्रिय सम्मेलनअन्तर्गत आज बन्दसत्र चल्दैछ । चितवनको नारायणी नदी किनारमा हिजो उद्घाटन गरिएको महासधिवेशनको बन्दसत्र चलिरहेको एमाले नेता तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बन्दसत्रमा गएराति बसेको केन्द्रीय कमिटीको निर्णय पारितका लागि पेश गरिने पनि उहाँले जानकारी दिनुभयो । सहमतिबाटै नेतृत्व चयन गर्ने रणनीति अनुसार नेकपा एमालेले पार्टीको विधान संशोधन गरी पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको छ ।

गएराति बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाएको भए पनि गएरातिको बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीसँगै पदाधिकारी सङ्ख्या बढाउने प्रस्ताव राख्नुभएको थियो ।

बैठकमा भएको सहमति अनुसार अब एमालेको कन्द्रीय कमिटीको आकार ३ सय १ सदस्यीय बन्ने, १५ सदस्यीय पदाधिकारी रहने यसअघिको व्यवस्थालाई परिवर्तन गरी १९ सदस्यीय बनाउने, ९९ जना पोलिटब्यूरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहने नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि सौराहा बैठकले पारित गरेको छ । यसअघि एमालेले दुई पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *