Main News

चितवनमा देखिएन ओली मस्कट, तर घटेन देवत्वकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १० गते २१:१२
चितवनमा देखिएन ओली मस्कट, तर घटेन देवत्वकरण (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७८ चितवन । केही समययता पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व प्रवर्द्धनमा केन्द्रित नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशनमा भने त्यसो गर्नबाट जोगिएको छ । यसअघि सबैजसो प्रचार सामग्रीमा ओलीलाई केन्द्रित गर्ने गरिएकोमा चितवनमा त्यस्तो दृष्य देखिएन ।

नेकपा एमालेले गत असोज दोस्रो साता ललितपुरको गोदावरीमा प्रथम राष्ट्रिय विधान महाधिवेशन गर्दा भर्खरै पार्टी विभाजन भएको तोड थियो । असन्तुष्ट पक्षलाई पार्टीमै टिकाउन गरिएको १० बुँदे सहमति कार्यान्वयन नगरेको गुनासोबाट जोगिनुपर्ने र अध्यक्ष केपी ओलीको कद जोगाइराख्नुपर्ने बाध्यता थियो । झण्डै दुई तिहाई बहुमतको सरकार टिकाउन नसकेको पिरलो थियो ।

देशभरबाट ६ हजारभन्दा बढी कार्यकर्ता उपस्थित भएको समारोहमा समग्र रुपमा अध्यक्ष ओलीलाई फेस सेभिङको संकट थियो । त्यसैले होला चक्रपथदेखि गोदावरीसम्म सडक किनारामा एमालेका झण्डभन्दा बढी ओलीका फोटाहरु थिए । चुनाव चिह्न सूर्यकोभन्दा बढी तेज ओलीमा देखाउन खोजियो ।

कार्यकर्तामाझ ओलीले जे गर्नुभयो त्यो नै अखण्डित सत्य हो र उहाँले जे गर्नुहुने छ त्यो नै अन्तिम सत्य हुनेछ भन्ने सन्देश प्रवाह गर्न खोजिएको थियो ।

त्यसयताका र त्यसअघिका सबैजसो एमाले कार्यक्रममा अध्यक्ष ओलीलाई केन्द्रमा राखिए पनि गोदावरी सम्मेलन ओलीलाई नेताबाट देवतामा रुपान्तरण गर्ने पहिलो आधिकारिक समारोह बन्यो ।

विधान महाधिवेशनमा पार्टीको राजनीतिक र सांगठनिक प्रतिवेदन तथा नीति–विधिमाथि कर्मकाण्डी छलफल भए पनि ओलीको रुचिअनुसार नै पारित गरियो । ओलीले संविधानको मर्म र भावना विपरीत दुई–दुई पटक संसद विघटन गरेको, माओवादी केन्द्रसँगको एकता राम्रोसँग हुर्किन नपाउँदै कलिलैमा निमोठेको अनि पछिल्लो आम निर्वाचनमा अत्यधिक लोकप्रियता हासिल गर्न सफल एमाले पार्टीलाई छिन्नभिन्न पारेको गुनासो सर्वत्र थियो । यी यावत गुनासाहरुलाई नजरअन्दाज गर्ने र पार्टीभित्र केन्द्रीय शक्तिको अधिनायकत्व पुष्टि गर्ने मञ्च बनायो गोदावरी सम्मेलन ।

यहाँ उपस्थित भएकाहरु कार्यक्रमस्थल बाहिर ठड्याइएका ओलीका ठूलठूला कागजी तस्बिरको सामुन्नेमा उभिएर सेल्फी खिच्ने, जयजयकार गर्दै हलभित्र बाहिर गर्ने बाहेक अन्य ठूलो भूमिकामा देखिएनन् । राजनीतिक र सांगठनिक प्रतिवेदनमा प्रश्न उठाउन हिम्मत गर्नेहरु एक्ला भए, ओलीले जे गर्नुभयो त्यो ठिक भन्नेहरु प्रशंसित भए । यहाँबाट फर्किनेहरु आलोचना गरेर पार्टीभित्र टिक्न सकिन्छ भन्ने भ्रमबाट मुक्त भए । कि ओलीधर्म अंगाल्नुपर्ने कि धर्म परिवर्तन नै गर्नुपर्ने अमिलो सत्य आत्मसाथ गरेर फर्किए ।

नवौँ महाधिवेशन सम्पन्न भएको ७ वर्षपछि नयाँ नेतृत्व चयनका लागि चितवनमा सुरु भएको दशौँ महाधिवेशनमा पनि ओलीको यही देवत्वकरण र जयजयकारको भजनले निरन्तरता पाउँछ होला भन्ने आम अपेक्षा थियो । तर अतिदेवत्वकरणका शिलशिलाबाट भइरहेको चौतर्फी आलोचनाका कारण हुन सक्छ चितवनमा एमालेले क्रमभंगताको साहस जुटाएको छ ।

चितवनका चोक र गल्ली, नारायणी पुल र बगरमा ओली मस्कटहरु देखिएनन् । सेल्फीका लागि महाधिवेशनकै लोगोका रुपमा डिजाइन गरिएको गैँडा मस्कट राखियो । चितवनको विरासतसँग जोडिएका प्राकृतिक वस्तुहरुलाई प्रधानता दिइयो । लाखौँ कार्यकर्ताको उपस्थितिमा ओलीबारे जति नै भक्तिगानसहितका सामग्रीहरु पेश गरिए पनि तस्बिर पूजनलाई यहाँ ब्रेक गरियो ।

त्यसो त चितवन महाधिवेशनले पनि ओलीलाई सर्वोच्च नेताकै रुपमा अनुमोदन गर्दैछ । अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरे पनि अन्तत अध्यक्षमा ओली दोहोरिने तय भई नै सकेको छ । बाँकी पदाधिकारीमा पनि ओलीको आशिर्वाद पाउनेहरु नै चुनिनेछन् । यो महाधिवेशन समग्र रुपमा ओली देवत्वकरणमा नभासिए पनि शक्ति प्रदर्शनमा भने सफल देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *