राजनीति

नेपाल, खनाल, गौतमलगायतका नेता नदेखिँदा एमाले महाधिवेशन खल्लो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १० गते २०:५८
नेपाल, खनाल, गौतमलगायतका नेता नदेखिँदा एमाले महाधिवेशन खल्लो (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७८ चितवन । नेकपा एमालको १० औं महाधिवेशन भव्य समारोहका बीच सुरु भयो । तर एमालेबाट विद्रोह गरी एकीकृत समाजवादी गठन गर्नु भएका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, बेदुराम भुसाल लगायतका पुराना एमाले नेताहरुको अनुपस्थितिमा भएको महाधिवेशन केही खल्लो देखियो ।

पार्टी विभाजन भएको केही महिनाभित्रै नेकपा एमालको १० औं महाधिवेशन चितवनमा सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेता र विदेशी पाहुना मञ्चमा देखिँदा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, गंगालाल तुलाधर, बेदुराम भुसाल लगायत नेकपा एमालेका पुराना नेताहरु देखिएनन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको असर नपरेको दाबी गरे पनि स्थापना कालदेखि नै अहोरात्र पार्टीका लागि खटिएका नेताहरु नदेख्दा महाधिवेशन मेलामा आएका हजारौँ कार्यकर्ताले खल्लो महसुस गरे ।

अध्यक्ष ओलीसँग मनमुटाव भएपछि नेपाल, खनाल र भुसाललगायतका तत्कालीन एमाले नेताहरुले विद्रोह गरी नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टी खोल्नु भएको थियो । पार्टी विभाजन नभएको भए मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, विरोध खतिवडा, रामकुमारी झाँक्री, लगायतका नेताहरु अहिले केन्द्रीय नेतृत्वका लागि बलियो उम्मेदवारका रुपमा नारायणी किनारमा देखिन्थे ।

बिक्रम संवत २ हजार ६ बैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी नै कालान्तरमा एमाले बन्यो । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो भने २ हजार १० साल माघ १० देखि २० गतेसम्म भएको पहिलो महाधिवेशनपछि मनमोहन अधिकारी महामन्त्रीमा निर्वाचित हुनु भयो । २ हजार ५० साल जेठ ३ मा दासढुंगा दुर्घटनामा महासचिव मदन भण्डारीको निधन भएपछि महासचिवमा माधवकुमार नेपाल चयन हुनु भयो ।

२ हजार ५२ साल माघ १२ देखि १८ गतेसम्म नेपालगञ्जमा सम्पन्न पार्टीको छैंटौं महाधिवेशनमा अधिकारी अध्यक्षमा निर्वाचित हुनुभयो भने महासचिवमा माधवकुमार नेपाल नै निर्वाचित हुनु भयो । पार्टीको कार्यकारी पद महासचिवमा झण्डै १५ वर्षसम्म रहेका माधव नेपालले २ हजार ६५ साल फागुन ५ गतेदेखि १४ गतेसम्म बुटवलमा सम्पन्न आठौं महाधिवेशनपछि नेतृत्वबाट विदा लिनु भयो । आठौं महाधिवेशनबाट झलनाथ खनाल पार्टी अध्यक्षमा निर्वाचित हुनु भयो ।

२ हजार ७१ साल असार १९ देखि साउन १ गतेसम्म काठमाडौंमा सम्पन्न पार्टीको नवौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनु भयो । ओली अध्यक्षमा निर्वाचित भएदेखि नै ओली र नेपालका बीचमा खटपट सुरु भयो । जुन खटपटले एमालेलाई विभाजनमा पुरायो । आफ्नो जीवनको सबैजसो उर्जाशील समय एमालेको नाममा खर्चिएका माधव नेपाल अहिले एमाले नामको पार्टीको विरोध गर्दै हिँड्नु भएको छ ।

नवौँ महाधिवेशनमा ओलीसँग झिनो मतले अध्यक्षमा पराजित नेता नेपालको पक्षका हजारौँ नेता कार्यकर्ता आज ओलीसँगै छन् । वर्षौँसम्म एमाले पार्टी र संगठन निर्माणमा जुटेका नेपाल थुप्रै संसदीय पार्टीका नेताहरु उपस्थित भएको नारायणी नदी किनारको मञ्चमा बोलाइनु भएन ।

पार्टी विभाजनको झोंकमा एमालेले उहाँलाई निम्तो दिएन । पछिल्ला निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने कुरामा उत्तिकै भूमिका खेलेका नेपालबिनाको दशौँ महाधिवेशन हजारौँ कार्यकर्ताहरुलाई नुन बिनाको दाल जस्तो लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्