Main News

दलहरुका कार्यक्रमले सामाजिक दूरीको खिल्ली उडाउँदा काेराेना जाेखिम बढ्दो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १० गते २०:४७
दलहरुका कार्यक्रमले सामाजिक दूरीको खिल्ली उडाउँदा काेराेना जाेखिम बढ्दो (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७८ काठमाडौं । चितवनमा १० औं एमाले महाधिवेशन जारी छ । ७७ वटै जिल्लाबाट महाधिवेशनका लागि कार्यकर्ता, सञ्चारकर्मी, शीर्ष नेता लगायत चितवन पुगेका छन् । महाधिवेशनका कारण चितवनका सडक, चोक लगायत सम्पूर्ण स्थानमा भिडभाड बढेको छ । भिडभाड बढेसँगै कोरोनाको जोखिम पनि उच्च देखिएको छ ।

एमाले महाधिवेशनका लागि देशभरीबाट हजारौं व्यक्ति चितवन पुगे । कोरोना कहरकैबीच देखिएको यो भिडमा, भौतिक दूरी कायम गर्ने कुरा असम्भव बन्यो । मास्कको प्रयोग अनिवार्य गरिएको भए पनि, पार्टीको यो भेलामा अधिकांस व्यक्ति मास्क नलगाइ बसेका देखिए । लगाएकाहरुको पनि मास्क, चिउडो, र कानमा झुण्डाएको देखियो ।

अरुको त कुरै छोडौं, शिर्ष नेताहरुको पारा पनि उस्तै छ । नेपालमा कोरोना संक्रमित र मृतकको संख्या घट्दै गएको भए पनि कोरोना कहरको जोखिम अझै कायमै रहेको भन्दै सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न भनेको भनेकै छ । तर राजनीतिक दलको भेलाले भने यो कुरालाई टेरपुच्छर लगाएको देखिदैन ।

करिब दुई वर्ष कोरोना कहर झेलेका हामीले कोरोनाका कारण आफ्नो प्रियजनलाई गुमाएका छौं । कतिपयको आइसियु र भेन्टिलेटरमा महिनौं बसेको अनुभव पनि छ । तर कोरोना कहरकै विच दलहरुले कोरोनालाई सामान्य ठान्दै धमाधम भेला आयोजना गर्दैछन् । यस्ले कोरोना संक्रमण बढाउदै लैजाने आशंका छ ।

अहिले पनि विश्वका विभिन्न देशहरु लकडाउन गर्ने, भिडभाड कम गर्ने तर्फ लागि परेका छन् । तर हामी भने कोरोनाले दिएको चोट भुल्दै विभिन्न भेलामा विना सावधानी पुगेका छौं । राजनैतिक दलका यस्ता भेलाका कारण अबको केही समयमै अवस्था असामान्य नहुने चेतावनी डाक्टर मरासिनीको छ ।

हुनत, कानुनी रुपमा जो सुकैले स्वतन्त्र रुपमा सभा सम्मेलन गर्ने धिकार सुनिश्चित छ । तर विना सावधानी, गरिने यस्ता भेलाहरु भने राजनीतिक दलहरुको गैरजिम्मेवारीपनको पराकाष्ट हो भन्दा फरक नपर्ला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *