राजनीति

एमाले कुम्भ मेलामा अड्किएकाे एम्बुलेन्समा बिरामीको दर्दनाक अवस्था (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १० गते २०:४२
एमाले कुम्भ मेलामा अड्किएकाे एम्बुलेन्समा बिरामीको दर्दनाक अवस्था (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७८ चितवन । नारायण किनारामा भएको नेकपा एमालेको अधिवेशन उद्घाटन समारोहको जे जस्तो रौनक देखियो । त्यसको ठिको उल्टो चितवनको पूर्वपश्चिम राजमार्गमा भने यात्रुहरुको बिलौना र पीडा भेटियो । ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त नहुँदा अस्पताल हिँडेका बिरामी एम्बुलेन्सको छतमा छटपटाउनु पर्‍यो ।

यो दृश्य भरतपुरको हो । नेकपा एमालेको उद्घाटन समारोहमा जम्मा भएको भीड छ । र यो भीडमा पुर्वपश्चिम राजमार्गमा गुडेका यात्रु र मालबाहक सवारी साधान मात्र हैन, विरामी बोकेका एम्बुलेन्स समेत फसेका छन् ।

स्थिति यस्तो छ कि एम्बुलेन्सका बेडमा सुतेका विरामी निसास्सिएपछि निकालेर छतमा राख्नु परेको छ । बिरामीलाई केही होला कि भनेर आफन्त एम्बुलेन्सको छतमै विरामीको पैतलामा मालिस गरिराखेका छन् ।

उनीहरु बिरामीलाई पानी खुवाउँछन् । बिरामीलाई हम्कन्छन् र हौसला बढाउँछन् ।

यो भीडले हेर्न मात्र सक्छ । केही गर्न सक्दैन । छेउमा सुरक्षाकर्मी रमिते बनेका छन् । देशको रक्षा गर्ने सेना जाममा फसेको छ । नजिकै जीवन मरणको दोभारमा रहेका विरामीलाई केही सहयोग गर्ने कोही अघि सर्दैन ।

महाधिवेशनको क्रममा पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्ससमेत चल्न नदिने भन्ने खबर सार्वजनिक गरेपछि नेकपा एमालेका नेताहरुले त्यसको खण्डन गरे ।
ट्राफिक प्रहरीले राजमार्गमा अत्यावश्यक सेवाका सवारी चल्न दिने बतायो । तर नेता र सुरक्षाकर्मीका भनाइ र आश्वासन यी दृश्यले गलत सावित गरिदिए ।

शक्ति प्रदर्शनका लागि करोडौँ रकम खर्च गरेर लाखौँ मानिस उतारेको एमालेले यी सय र हजार रुपैयाँ पनि धौधौ जुटाएर अस्पताल हिँडेका बिरामीहरुको पीडा सुन्न कुनै संयन्त्र तयार गरेको देखिएन ।

कार्यकर्ताको र्‍यालीमा अघिपछि ३ सयभन्दा बढी स्वास्थ्यकर्मी परिचालनको प्रचार गरे पनि यही भीडमा फसेका बिरामीहरुको छटपटीमा मल्हमपट्टीमा बेवास्ता गरेको देखियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्