राजनीति

यस्तो छ नेकपा एमालेको इतिहास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १० गते १८:४४
यस्तो छ नेकपा एमालेको इतिहास (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७८ काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । एमाले दशौं महाधिवेशनसम्म आइपुग्दा उसको इतिहास फर्केर हेरौं–

नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित छ । एमालेको पृष्ठभूमि नेपाल कम्युनिष्ट पार्टीबाट शुरु हुन्छ । स्थापनाको कालखण्डमै विवादमा रुमलिएको थियो, नेपाल कम्युनिष्ट पार्टी । विक्रम संवत् २००६ सालमा पार्टी स्थापना हुँदा विवादको केन्द्रमा संस्थापक नेता पुष्पलाल श्रेष्ठ नै हुनुहुन्थ्यो । उहाँले माक्र्सवादको अध्ययन र प्रचारमा लागेका त्यसबेलाका सहकर्मीहरुलाई नजरअन्दाज गरेको प्रसंग छ ।

भारतको कलकत्तामा रहेका पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिइ माक्र्सवादको अध्ययनमा जुट्नुभयो । केशरजंग रायमाझी अध्ययनरत् क्यम्पवेल मेडिकल स्कुलमा केही युवाले ‘माक्र्ससिस्ट स्टडी सर्कल’ गठन गरे । पछि यो संस्थामा रायमाझीसहित भारतमा अध्ययनरत अधिकांश नेपाली युवा आबद्ध हुन थाले । तीमध्ये एक जना बनारसमा अध्ययनरत् मनमोहन अधिकारी पनि हुनुहुन्थ्यो । रायमाझी र अधिकारी भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा समेत थिए ।

‘मार्क्ससिस्ट स्टडी सर्कल’ मा पुष्पलालसहित हिक्मतसिंह भण्डारी, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्की जस्ता युवा संलग्न भए । सर्कलको उद्देश्य नेपालमा कम्युनिष्ट पार्टी खोल्नु थियो । यही पृष्ठभूमिमा विक्रम संवत् २००६ बैशाख १० गते कलकताको श्यामबजारस्थित एक बंगालीको घरमा पार्टी गठन भएको थियो ।

नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । महासचिव पुष्पलाल आफैँ हुनुहुन्थ्यो ।

२००६ साल भदौ ३० गते नेकपा स्थापनाको औपचारिक जानकारी बाहिर ल्याइयो तर, त्यसमा यसअघिका पाँच संस्थापकमध्ये पुष्पलालबाहेक अरु कोही थिएनन् । सो दिन घोषित केन्द्रीय कमिटीमा महासचिव पुष्पलाल, सदस्यहरुमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह थिए । सिंह भारतीय कम्युनिष्ट पार्टीका प्रतिनिधि थिए । दोस्रो समितिमा पनि केशरजंग रायमाझी भने छुट्नुभएको थियो ।

पुष्पलालको आफ्नो पुस्तकमा नेकपा स्थापनापछि गौरिभक्त प्रधानमार्फत् तुलसीलाल अमात्य पार्टी सम्पर्कमा आएको उल्लेख छ । तर, तुलसीलाल दोस्रो केन्द्रीय कमिटीमा सदस्य हुँदा गौरिभक्तको नाम उल्लेख छैन । मनमोहन अधिकारीले नरबहादुर कर्माचार्यमार्फत पार्टीसँग सम्पर्क गरेको पुष्पलालको पुस्तकमा उल्लेख छ । तर, कर्माचार्यको नाम पनि दोस्रो केन्द्रीय कमिटीबाट हटेको छ भने मनमोहनलाई समावेश गरियो ।

यसरी स्थापनाकालमा नै ‘अदृश्य गतिविधि’का कारण नेकपामा विवादको बीउ रोपिएको थियो । त्यो विवादमध्ये एउटा थियो– पार्टी स्थापना मिति । अहिले पनि केही कम्युनिष्टले १० वैशाखलाई स्थापना दिवस मान्ने गरेका छन् भने केहीले पार्टी स्थापनाको सार्वजनिक जानकारी गराइएको र पहिलो पटक नेकपा घोषणापत्र जारी गरिएको ३० भदौलाई स्थापना दिवस मान्ने गरेका छन् ।

२०१७ सालमा पहिलोपटक कम्युनिष्ट पार्टीभित्रको विवाद बाहिर आउँदा स्थापना दिवस तथा संस्थापक सदस्यहरुबारे पनि किचलो उठेको थियो ।

तेस्रो महाधिवेशनमा पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको समूहको विकसित पार्टी नै अहिले एमालेको धार हो । यही समूहबाट २०२७ सालमा झापा जिल्ला कमिटीले विद्रोह गरी ‘झापा सशस्त्र विद्रोह’ गरेको थियो । त्यहींबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीति सुरु भएको थियो ।

२०३२ सालमा कोअर्डिनेसन कमिटी (कोके) बनेको थियो । त्यही समूह २०३५ मा नेकपा (माले) बन्यो । नेकपा माले स्थापना गर्दा यसका नेता सीपी मैनाली, मदन भण्डारी, माधवकुमार नेपाल, ईश्वर पोखरेल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, जीवराज आश्रित लगायत थिए ।

२०३५ सालमा मुक्ति मोर्चा, पूर्वको रातो झन्डा र पश्चिमको रातो झन्डा (सन्देश) समूहको पनि मालेसँग एकता भएको देखिन्छ । २०३६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेकपा र सहाना प्रधानको पुष्पलाल समूहबीच २०४३ सालमा एकता भएपछि नेकपा (मार्क्सवादी) बन्न पुग्यो ।

त्यसपछि २०४७ सालमा माले र मार्क्सवादीबीच पार्टी एकता भएर एमाले बनेको हो । तर, एमालेमा पनि २०५४ सालमा विभाजन आयो । सहाना प्रधान, वामदेव गौतम लगायतले त्यसबेला एमाले विभाजन गरे । २०५८ मा गौतमसहित अधिकांश हिस्साले पुनः एमालेसँगै पार्टी एकता गर्‍यो । सीपी मैनालीले भने मालेलाई नेतृत्व दिइराख्नुभएको छ ।

अर्कोतिर २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भयो । यो एकता तीन वर्ष पनि टिकेन । अदालतको आदेशमा पुरानै अवस्थामा फर्किएको एमालेसँग माधवकुमार नेपालको समूह छुट्टियो । यही पृष्ठभूमिमा एमालेले चितवनमा १० औं राष्ट्रिय महाधिवेशन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्