राष्ट्रिय जनगणना : पुसदेखि तथ्याङ्क प्रशोधन, जनसङ्ख्या तीन करोड नजिक पुग्ने अनुमान
१० मंसिर २०७८ काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारबाट सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ ।
यसपटकको जनसङ्ख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो । आउँदो पुस महिनादेखि जनगणनाको विवरण प्रशोधन सुरु गरी करिब तीन महिनामा प्रारम्भिक नतिजा तथा एक वर्षपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी प्रक्रिया अघि बढेको जनाइएको छ ।
विभागले जनगणनाको महाअभियानमा स्थानीयस्तर मै खटिएर अथक प्रयास गरी विवरण सङ्कलन गर्ने गणक तथा सुपरिवेक्षक र गणनामा सहभागी भई सत्यतथ्य विवरण दिने उत्तरदातालाई धन्यवाद दिएको छ । जनगणनाको व्यवस्थापन र गुणस्तर नियमनको लागि केन्द्रदेखि स्थानीयस्तरसम्म कार्य गर्ने सम्पूर्ण कर्मचारी, जनगणनाको प्रचारप्रसार तथा सचेतना, सहयोग र समन्वय गर्ने सञ्चारकर्मी, विज्ञ समुह, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्था एवम् जनगणनाका क्रियाकलापमा प्रत्यक्ष वा परोक्षरूपले सहयोग गर्ने सम्पूर्णमा विभागले आभार व्यक्त गरेको छ ।
जनगणना कोभिड–१९ को विश्वव्यापी महामारीले गर्दा पूर्वनिर्धारित समयभन्दा करिव पाँच महिना ढिलो गरी सञ्चालन भएको थियो । ‘जनगणनाको बाह्रौँ श्रृङ्खला सञ्चालन गर्दैगर्दा धेरै कुरा सिकेका छौँ, जसले हामीलाई आगामी गणना तथा सर्वेक्षणमा पृष्ठपोषण दिनेछ’, विभागले आज पत्रकार सम्मेलनपछि वितरित विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसपालिको तथ्याङ्क सङ्कलनमा डिजिटल प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीबाट वडातहसम्मको आधारभूत विवरण सङ्कलन, विदेशस्थित कुटनैतिक नियोगमा इसेन्सस् विधिवाट गणना गरिएको र त्यसका लागि विगतभन्दा एक तह माथिको शैक्षिक योग्यता भएका स्थानीय वेरोजगार यूवाको सङ्लग्नता रहनु प्रमुख विशेषता भएको विभागले जनाएको छ । नेपालको भू–भागभित्रका तराई, पहाड र हिमालका सम्पूर्ण स्थानको गणना सम्पन्न भएको र केही विवादित क्षेत्रमा कुटनैतिक पहल गरी छिटै गणना सम्पन्न गर्ने पनि विभागले उल्लेख गरेको छ ।
आउँदो पुस महिनादेखि विभागको डाटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन सुरु गरी करिब तीन महिनापछि प्रारम्भिक नतिजा तथा एक वर्षपछि क्रमश ः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदन प्रकाशन गर्ने विभागको तयारी छ । जारी विज्ञप्तिमार्फत भनिएको छ, ‘हामीले सञ्चालन गर्ने सबै प्रकारका गणना र सर्वेक्षणमा सम्पूर्ण उत्तरदाता र सरोकारवाला सबै व्यक्ति तथा संस्थाबाट आगामी दिनमा पनि यस्तै सहयोग र समन्वयको अपेक्षा गरेका छौँ ।’
गणनाका १३ अनुभव
जनगणनाका सन्दर्भमा अवलोकन गरिएका उल्लेखनीय विषयलाई विभागले बुँदागतरुपमा सार्वजनिक पनि गरेको छ । तेह्र बुँदामा समावेश भएको उक्त निष्कर्षानुसार गणक दोलखाको विगु गाउँपालिका–१ स्थित चाइनाको बोर्डरमा रहेको लप्ची गाउँमा पुग्न तीन दिन लागेकाले जङ्गलमा दुई रात बास बस्नुपरेको तथा पहाडको ढुङ्गा खोपेर बनाएको बाटोमा डोरी समातेर हिड्नु परेको जनाइएको छ ।
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा कायत जातिको बसोबास रहेकोमा २०६८ सालको जनगणनामा उक्त जाति अलगरुपमा उल्लेख नभएको र हालको गणना उक्त जाति नआउने हो भने जनगणना भाग नलिने भनी केही समय जनगणना प्रभावित भएको जनाइएको छ । जिल्ला जनगणना कार्यालयले सम्बन्धित समुदायसँग छलफल गरी समस्या समाधान गरी जनगणना गरेको र कायत जाति कायम गर्न विभागमा जानकारी गराउने मौखिक सहमति भएको छ ।
दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङरुङ र टिङ्कर वस्ती पुग्न नेपालतर्फ बाटो नभएको र भारतको बाटो भएर एक दिनमा पुग्न सकिने भएकोले भारत सरकारका स्थानीय प्रतिनिधिमार्फत उक्त क्षेत्रमा जान सहमति माग गर्दा पनि सहमति प्राप्त नभएकाले जनगणनामा समस्या भएको थियो । विभागले सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीसहित तीन गणक उक्त स्थानमा जान नसकेपछि अन्य दुई गणकले तीन दिन लगाएर उक्त क्षेत्रमा पुगि जनगणना सम्पन्न गरेको उल्लेख गरेको छ । उनीहरुलाई सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो ।
गणकले गलत विवरण टिपेको र विभिन्न अभियन्ताले सामाजिक सञ्जाल तथा प्रत्यक्षरुपमा गलत प्रचार प्रसार र गणकलाई विवरण टिपाउन दवाव दिएको सम्बन्धमा विभागको गम्भिर ध्यानाकर्षण भएको र गणकले उत्तरदाताले भनेको विवरण टिप्न र अभियान्ताले गलत प्रकारले दवाव नदिन प्रेस विज्ञप्तिमार्फत अनुरोध गरिएको थियो । यसै सन्दर्भमा आदिवासी जनजाती आयोगमा तथ्याङ्क सङ्कलनका क्रममा उठेका विवादका सम्बन्धसमेतमा छलफल भइ आयोगले सत्य तथ्य विवरण टिप्न टिपाउन अनुरोध गरेको जनाइएको छ ।
विभागले जनगणना गर्ने क्रममा कैलालीमा एक सुपरिवेक्षक, धादिङ र रसुवामा क्रमशः एक/एक गणकको मृत्यु भएको, चार जना गणकलाई कुकुरले टोकेको र दुई जनाको खुट्टा भाँचिएको जानकारी गराएको छ । केही गणकलाई कोभिड–१९ सङ्क्रमणसमेत भएको थियो । विभागले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेको छ । घाइतेको स्वास्थ्य लाभको कामना पनि गरिएको छ । उनीहरुका सन्दर्भमा सरकारकोतर्फबाट बीमा गरिएको र क्षतिपूर्तीको व्यवस्था बमोजिम सहजिकरणको कार्य भइरहेको विभागका सूचना अधिकारी तीर्थराज चौलागार्इँले जानकारी दिनुभएको छ ।
करिब तीन करोड नजिक पुग्ने
विभागले घर तथा घरपरिवार सूचीकरण कार्यमा ६८ लाख परिवारको गणना भएको जानकारी दिएको छ । जुन विसं २०६८ सालको जनगणनाअनुसार प्रक्षेपण गरिएको करिव नजिक रहेको जनाइएको छ । जसअनुसार केही तलमाथि भए पनि जनसङ्ख्या करिव तीन करोड नजिक पुग्ने अनुमान गर्न सकिन्छ ।
राष्ट्रिय जनगणनाको स्वतन्त्ररुपमा पर्यवेक्षण गर्नको लागि युएनएफपिएको अनुरोधमा युनएफपिए, वेलायती राजदूतावास, जनसङ्ख्या अध्ययन शास्त्र केन्द्रीय विभागका करिव २५ जना र कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रमार्फत नागरिकस्तरको अवलोकन समितिका २५ जना रहेका थिए ।
जनगणनामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य, सचिव तथा सहसचिव र अन्य कर्मचारीलगायत अन्य मन्त्रालयसमेतका गरी १०० जनाबाट केन्द्रीय अनुगमन तथा सुपरिवेक्षणकार्य भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रदेश तथा जिल्लामा प्रदेश प्रमुख/सचिवलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मेयर, उपमेयर, वडा अध्यक्षबाट जनगणना कार्यको अवलोकलन तथा अनुगमन भएको थियो ।
यस पटक यौनिक तथा लैंगिक समुदायका व्यक्ति तथा अपाङ्ता महासङ्घ तथा अन्य सङ्घ संस्थामार्फत तालिममा सहजीकरण र गणनाको अनुगमन भएको थियो । नागरिक समाजको तर्फबाट स्वतस्फूर्त अनुगमन भएका थिए भने गणक तथा सुपरिवेक्षकले सामाजिक सञ्जालमार्फत प्रचार र छलफल गरेका थिए । प्रदेश तथा जिल्ला जनगणना कार्यालय र स्थानीय जनगणना कार्यालयका कर्मचारीले गणनाको अवधिमा सामूहिक छलफल तथा अन्तक्रिया गरी जनगणनाको गुणस्तर सुनिश्चित गरेको पनि विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुरसञ्चार प्राधिकरणमार्फत नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिफोनले जनगणना अवधिमा जनगणनाको सन्देश कलर ब्याक रिङ्ग टोन निःशुल्करुपमा सञ्चालन गरेकाले जनगणनाको सन्देश आम नागरिक समक्ष सहजरुपमा पुगेको विभागले जनाएको छ ।
नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना १०९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो । यो क्रम अहिले अझै वैज्ञानिकरूपमा सञ्चालन भइरहेको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६५ लाख थियो । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित शुरु यसपालीको जनगणनामा ८० प्रश्न समावेश थियो । जनगणना गर्न ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक खटाइएको थियो ।
प्रतिक्रिया