राजनीति

शिक्षकले खुलेआम राजनीति गर्न पाइन्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ८ गते २०:४६
शिक्षकले खुलेआम राजनीति गर्न पाइन्छ ? (भिडियो रिपोर्टसहित)

८ मंसिर २०७८ काठमाडौं । विभिन्न राजनीतिक दलहरु महाधिवेशनमा होमिएका बेला शिक्षकहरु सक्रिय राजनीतिमा लाग्न हुन्छ कि हुन्न भन्ने प्रश्न फेरि उब्जिएको छ ।

प्रमुख राजनीतिक दलका अधिवेशनहरु चलिरहँदा विभिन्न ठाउँबाट शिक्षकहरु पनि नेतृत्वमा पुगेको तथा प्रतिनिधिका रुपमा छनोट भएको लगायतका समाचारहरु आउन थालेपछि शिक्षकहरुले सक्रिय राजनीति गर्ने कि नगर्ने भन्नेमा बहस शुरु भएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरु सक्रिय राजनीतिमा लाग्नुपर्ने तर्क गर्नुभयो । शिक्षकहरुमार्फत् नै तल्लो तहमा खासगरी मजदुर र किसान बर्गसम्म राजनीति पुर्‍याउन सकिने भएकाले शिक्षकहरु राजनीतिमा अझै सक्रिय भएर लाग्नुपर्ने अभिव्यक्ति उहाँको थियो ।

हुन त समाज परिवर्तनको संवाहक शिक्षक हुन् यसमा कुनै दुईमत छैन । धेरैजसो ग्रामीण क्षेत्र भएको नेपालजस्तो देशमा तल्लो वर्गका नागरिकहरुले साक्षात्कार गर्न सक्ने र पाउने बौद्धिक व्यक्ति भनेकै शिक्षक हुन् । तर प्रचण्डले भने यी शिक्षकलाई सक्रिय राजनीतिमै धकेल्नुपर्ने र उनीहरुबाटै राजनीतिक दलको सुरक्षा हुने अभिव्यक्ति दिनुभयो ।

राजनीतिमा विभेद हुन्छ । विचार, सिद्धान्त र दर्शनका हिसाबले जसरी राजनीतिक दलहरु फरक हुन्छन्, शिक्षकहरु पनि त्यही फरक विचार, दर्शन र सिद्धान्त बोकेर विद्यार्थीमाझ पढाउन पुगे भने उनीहरुले कस्तो विद्यार्थी उत्पादन गर्लान् ? शिक्षकहरु कक्षा कोठामा छिरेर विद्यार्थीलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका कुरा, मौलिक परिवेश, समसामयिक विषय, परिवर्तित राजनीतिक घटनाक्रम, इतिहास जस्ता कुरा स्वतन्त्र रुपमा मात्र सिकाउलान् त ?

दलको कार्यकर्ता बनेको शिक्षकले विद्यार्थीलाई तत्कालीन परिवेश, राजनीतिक उपलब्धि र परिवर्तनबारे स्वतन्त्र रुपमा बोल्दैन । दलीय विचारको भारी बोकेको शिक्षकले विचारको विविधता स्वीकार गर्न सक्दैन र त्यस्तो कुरा सिकाउन सक्दैन ।

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने उदाहरण दिँदै पद प्राप्ति हुँदा जुनसुकै हदसम्मको हिलोमा डुब्न र पद गुम्दा जुनसुकै नालीको हिलोले छ्याप्न तयार हुने प्राणी नेता हुन् । राजनीतिमा न्यूनतम मानवीय धर्महरु नजरअन्दाज गरिन्छन्, अनुशासन र लोकलाज लोप भइसकेका चराका नाम हुन् । त्यसैले राजनीतिलाई फोहोरी खेल भन्दा कसैले जिब्रो टोक्दैन ।

सबैभन्दा बढी सम्मानित हुनुपर्ने शिक्षक जस्तो पेशा वर्षौँदेखि सरकारको चरम विभेदको शिकार बनिरहेको छ । विभेदमा परेको बर्गले राजनीतिमा आफ्नो भविस्य खोज्नु सायदै नराम्रो हो । तर शिक्षा जस्तो क्षेत्रमा राजनीतिलाई प्रश्रय दिने र शिक्षक जस्तो व्यक्तिलाई दलको खेताला बनाउन खोज्ने प्रचण्ड अभिव्यक्ति वर्तमान राजनीतिको प्रतिनिधि प्रवृत्ति हो ।

हाल धमाधम चलिरहेका पार्टीका महाधिवेशनमा ठूलो संख्यामा शिक्षकहरु पनि सहभागी भएको सुनेपछि निर्वाचन आयोगले एक विज्ञप्ति जारी गरेर शिक्षक र दललाई राजनीतिक दलसम्बन्धी ऐन सम्झाएको छ । आयोगले भनेको छ ,‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ अनुसार नेपाल सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहावलावा प्राध्यापक, शिक्षक वा कर्मचारी पदमा वहाल रहेको अवस्थामा राजनीतिक दलको सदस्य हुन पाइँदैन ।’

त्यसो त शिक्षकहरु राजनीतिमा, विद्यालयहरुमा राजनीति, राजनीतिक हस्तक्षप, विद्यार्थीहरुलाई पार्टीको नाराजुलसमा सहभागी जस्ता घटना हाम्रो लागि सामान्य हुन् । यीनै सामान्य घटनाका कारण हाम्रो शिक्षाको गुणस्तर असामान्य रुपमा कमजोर छ । यही कुरालाई ध्यानमा राखेर शिक्षा क्षेत्रको विकासका लागि थुप्रै पटक थुप्रै पहलहरु भए । २०७५ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पनि शिक्षकका दलीय संगठन खारेजीको प्रस्ताव गरेको थियो ।

आयोगले शिक्षामा अति राजनीतिकरणले गुणस्तरमा गम्भीर नकारात्मक असर परेको ठहरसहित कुनै पनि विद्यालय शिक्षकले कुनै पनि राजनीतिक दलको पार्टी सदस्यता तथा पदाधिकारी हुन नपाउने र भएमा शिक्षक पद स्वतः नरहने गरी कानून प्रबन्ध गर्न सुझाएको थियो ।

बेलाबेला शिक्षा क्षेत्रको चिन्ता पनि गरेजस्तो गर्ने र शिक्षकहरुलाई राजनीतिमा लाग्न पनि बाध्य पार्ने दलीय प्रवृत्तिले शिक्षा क्षेत्र झन कमजोर बन्दै जाने निश्चित छ । अनि अर्कोतिर निर्वाचन आयोगले अहिले महाधिवेशनको रौनकमा निकालेको विज्ञप्ति कार्यान्वयनका लागि कत्तिको चासो देला, दलहरुले टेर्लान् किन नटेर्लान्, आफैले बनाएका ऐनहरु कार्यान्वयन गर्न कति इमान्दार बन्लान्, अनेकौँ प्रश्नहरु उत्तरको पर्खाइमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्