राजनीति

कांग्रेस महाधिवेशन : पुरानै पुस्ता हाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ८ गते २०:४२
कांग्रेस महाधिवेशन : पुरानै पुस्ता हाबी (भिडियो रिपोर्टसहित)

८ मंसिर २०७८ काठमाडौं । मंसिर २४ गतेदेखि २६ गतेसम्म नेपाली कांग्रेसको महाधिवेशन काठमाडौंमा हुँदैछ । त्यसका लागि प्रतिनिधिहरु छानिनेक्रम जारी छ । युवाको प्रतिनिधित्व बढेपनि नेतृत्वमा पाका पुस्ता नै नेतृत्वमा आउने करिब–करिब निश्चित छ ।

हालसम्म महाधिवेशन प्रतिनिधि हेर्दा संस्थापन केही बलियो देखिएपनि जिल्ला सभापतिहरुको नतिजा परिणाम हेर्दा संस्थापन र संस्थापन इतरको टकराव देखिन्छ ।

गत सोमबारबाट कांग्रेसले महाधिवेशन प्रतिनिधि छान्न सुरु गरेको छ । चार हजारभन्दा बढी प्रतिनिधि छानिने कांग्रेस महाधिवेशनमा संस्थापन र संस्थापन इतर नेतृत्व भिडन्तमा उत्रिँदैछन् ।

संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा पुनः सभापति दोहोर्याउने मनस्थितिमा हुनुहुन्छ । तर, उहाँलाई त्यति सहज छैन, १३औँ महाधिवेशनमा देउवाको निकट रहेका विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवारीबाट पछि नहट्ने अडानमा हुनुहुन्छ ।

संस्थापन इतरमा थप समस्या रहेको छ । इतर समूहबाट साझा उम्मेदवार बन्ने दाउमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अझ बढी चुनौती छ । इतर समूहबाट महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि छोड्ने पक्षमा हुनुहुन्न ।

केन्द्रीय नेताहरुको समीकरण कस्तो बन्ला भन्ने हेर्नका लागि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको अन्तिम परिणाम पर्खिनुपर्छ । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ मध्ये २६ जिल्लाले कांग्रेसको नयाँ नेतृत्व पाइसकेको छ । मत गणना सम्पन्न भएको जिल्लामा संस्थापन समूह अगाडि छ ।

संस्थापन समूहबाट १४ जिल्लामा सभापति निर्वाचित भएका छन् भने संस्थापन इतर समूहबाट १२ जिल्लामा सभापति निर्वाचित भएका छन् । हालसम्मको परिणाम हेर्दा संस्थापन ५५ प्रतिशत र संस्थापन इतर ४५ प्रतिशत उम्मेदबार विजयी गराउन सफल भएका छन् । १ सय ६५ संघीय निर्वाचन क्षेत्र मध्ये १ सय २५ मा मतपरिणाम नै सार्वजनिक भएको छ भने ३२ सय बढी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

दश निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता गगन थापाको संयुक्त समूहको बर्चश्व रह्यो । तीन निर्वाचन क्षेत्र रहेको कास्की एक र २ मा पौडेल पक्ष बलियो रहेपनि ३ नम्बरमा देउवा पक्षले बाजी मार्यो । तीन क्षेत्र रहेको चितवन क्षेत्र नम्बर १ मा सभापति देउवा पक्षले जित्दा २ र ३ मा पौडेल पक्षका उम्मेदबार विजयी भए ।

उता, लम्जुङमा देउवा निकट सभापतिका उम्मेदवार टकराज गुरुङ निर्वाचित हुनुभएको छ । सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा विवादकाबीच संस्थापन पक्ष नै हावी भएको छ । मकवानपुरमा पनि देउवा पक्षबाट बिजयी भए ।

पाल्पा, पश्चिम नवलपरासी इतरपक्ष हावी हुँदा रुकुम पूर्वमा भने देउवा पक्षले जितेको छ । कञ्चनपुर १ मा इतरपक्ष आउँदा दुई र तीन मा भने देउवा पक्ष हावी रह्यो । यो तथ्य नेपाली कांग्रेसको जारी महाधिवेशनमा सम्पन्न क्षेत्रीय अधिवेशनको हो । तर, अन्तिम परिणाम पछि मात्र को बलियो भन्ने प्रष्ट चित्र आउँछ । त्यसका लागि केही दिन पर्खिनैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्