सर्वोच्च अदालतमा मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकिने
८ मंसिर २०७८ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले गोला प्रक्रियाबाट इजलास गठन गर्ने मिति तोक्न भोलि पूर्ण बैठक ९फुल कोर्ट० बोलाउने निर्णय गरेका छन् ।
सर्वोच्च अदालतका कर्मचारीहरुबाट प्रशासनिक र प्राविधिक तयारी पूरा भएको जानकारी लिएका १८ न्यायाधीश फुल कोर्ट बोलाउने निर्णयमा पुगेका हुन् । फुल कोर्टको समन्वय गर्ने जिम्मेवारी मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई दिइएको छ ।
सामान्य अवस्थामा प्रधानन्यायाधीशको निर्देशनमा मुख्य रजिष्ट्रारले फुल कोर्ट बोलाउने व्यवस्था छ । तर, प्रधानन्यायाधीश राणाको नेतृत्व अस्वीकार गरेका न्यायाधीशहरु आफैं फुल कोर्ट बोलाउने निर्णयमा पुगेको एक न्यायाधीशले जानकारी दिए ।
यसबारे भोलि नै उनिहरूले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँग छलफल गर्ने भएका छन् । फुलकोर्ट बोलाउन सर्वोच्च अदालतको नियमावलीले प्रधानन्यायाधीशको उपस्थिति अनिवार्य गरेका कारण राणाकै नेतृत्वमा बैठक बसेको लिखत तयार पारिएको छ ।
गत बिहीबार बसेको फुल कोर्टले सर्वोच्च अदालत नियमावली संशोधनको निर्णय गर्दै प्रधानन्यायाधीशले तोक्दै आएको दैनिक पेसी र इजलास अब गोला प्रक्रियाद्वारा तोक्ने व्यवस्था गरेको थियो ।
गत सोमबार नेपाल राजपत्रमा प्रकाशित संशोधित नियमावलीमा फुल कोर्टले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि गोला प्रक्रिया लागू हुने व्यवस्था गरिएको छ ।
गोला प्रक्रियाबाट पेशी तोक्ने सुनिश्चित भएपछि न्यायाधीशहरुले इजलास फर्किने मनस्थिति बनाएका छन् । गत बिहीबार फुल कोर्टमा नबसेका न्यायाधीशहरुले निर्णयमा हस्ताक्षर गरेर मुख्य रजिष्ट्रार मार्फत प्रधानन्यायाधीशलाई पठाएका थिए ।
प्रतिक्रिया