प्युठानमा कांग्रेसको मतगणनास्थलमा गोली चल्यो, ११ जना घाइते

८ मंसिर २०७८ प्युठान । नेपाली कांग्रेसको प्यूठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चल्दा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनालाई बुटवलमा उपचार गरिएको छ भने बाँकी ७ जनाको प्युठान अस्पतालमै उपचार भएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाको क्रममा हिजो बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर प्रहरीसहित ७ जना घाइते भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अधिकांश घाइते उपचारपछि घर फर्किएको जानकारी दिनुभयो । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ राउन्ड गोली चलाएको थियो ।
प्रहरीले आफैँ चलाएको गोली खुट्टामा लाग्दा प्रहरी जवान घाइते भएका छन्। प्रहरी जवानसहित तरुण दल प्युठानका उपाध्यक्ष रोयल कृष्ण र बिजय रिजालको बुटवलमा उपचार भइरहेको छ ।
घाइतेहरु कुबेर घर्ती, कमल घर्ती, खेमराज पण्डित लगायतको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मतगणनाको क्रममा रामचन्द्र पौडेल पक्षका उम्मेदवार बिष्णु गिरीले अग्रता लिएपछि सभापति शेरबहादुर देउवा पक्षले ढुंगामुढा गरेको थियो । झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको हो ।
प्रतिक्रिया