Main News

कांग्रेस महाधिवेशन : शीर्ष नेताहरुको नजर क्षेत्रीय अधिवेशनमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ७ गते २०:५९
कांग्रेस महाधिवेशन : शीर्ष नेताहरुको नजर क्षेत्रीय अधिवेशनमा (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । १४ औं महाधिवेशनमा केन्द्रित नेपाली कांग्रेसले सोमबारदेखि १ सय २५ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन शुरु गरेको छ । बिहीबारसम्ममा अधिवेशन सक्ने लक्ष्य राखेको कांग्रेसले शुक्रबार जिल्ला अधिवेशन गरिसक्ने कार्यतालिकामा काम जारी राखेको छ ।

महाधिवेशन प्रतिनिधि छानिने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा ठाउँ अनुसार फरक–फरक समीकरण बनेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रमा पदका आकांक्षी नेताहरुको ध्यान अहिले क्षेत्रीय अधिवेशनले खिचेको छ ।

कांग्रेसले कूल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा १४ हिमाली जिल्लाहरू मनाङ, रुकुमपूर्व, मुस्ताङ, हुम्ला, संखुवासभा, ताप्लेजुङ, गोरखाका दुई क्षेत्र, दोलखा, रामेछाप, कालिकोट, म्याग्दी, बझाङ, बाजुरा र मुगुका १५ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गरिसकेको छ । यी जिल्लामा जिल्ला अधिवेशन नै भइसकेका छन् । १ सय २५ निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन भइरहेको छ ।

बाँकी २५ निर्वाचन क्षेत्रमा पनि अधिवेशनको तयारी थालिएको छ । सर्लाही, रसुवा, सिन्धुपाल्चोकमा क्रियाशिल सदस्यता विवाद कायमै छ । बारा र रौतहटका केही क्षेत्रमा पनि विवाद सुल्झिएको छैन । बिहीबारसम्ममा १ सय ५० निर्वाचन क्षेत्रको परिणाम आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

विवाद रहेका जिल्लामा पनि सहमतिको प्रयास भइरहेको र १० गतेसम्ममा अधिवेशन प्रारम्भ गराउने तयारी भएको समितिले जानकारी दिएको छ । बिहीबारसम्मको कांग्रेस प्रतिनिधिको चित्र हेरेर सभापतिदेखि पदाधिकारी, केन्द्रीय सदस्यसम्मले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

हालसम्म संस्थापनबाट सभापति शेरबहादुर देउवा पुनः सभापतिमै दोहोरिने योजनामा हुनुहुन्छ । देउवालाई साथ दिंदै आएका उपसभापति विमलेन्द्र निधी पनि सभापतिकै दौडमा हुनुहुन्छ ।

संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला सभापतिकै लाइनमा देखिनुभएको छ । संस्थापन इतरमा सहमतिको प्रयास जारी राखेको बताइए पनि अहिलेसम्म कसैले छाड्ने मनस्थिति बनाएका छैनन् । केन्द्रमा संस्थापन र संस्थापन इतर देखिए पनि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा रंगिविरंगी समूह देखिएका छन् ।

महामन्त्री कोइरालाको निर्वाचन क्षेत्र नवलपुरमा सभापति देउवा र कोइरालाको संयुक्त समूह बन्यो । सभापति र महामन्त्रीको संयुक्त प्यानल वरिष्ठ नेता पौडेल समूहविरुद्ध मैदानमा उत्रियो । तर, प्रदेश एकका अधिकांश जिल्ला र निर्वाचन क्षेत्रमा पौडेल र कोइरालाको संयुक्त समूह बनाइएको छ ।

काठमाडौंमा भने पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य गगन थापाको संयुक्त समूह बनेको छ । तल्लो तहमा फरक–फरक समूह बन्दा त्यसको प्रभाव महाधिवेशनमा कसरी पर्ने हो त्यो हेर्न बाँकी छ । सबैभन्दा रोचक महामन्त्री कोइरालाकै निर्वाचन क्षेत्रमा देउवासँगको गठबन्धनले केन्द्रीय महाधिवेशनमा देउवा र कोइराला एक हुने हुन कि भन्नेमा पौडेल पक्ष सशंकित छ ।

कम्तिमा शुक्रबारसम्ममा कांग्रेसको स्पष्ट चित्र आइसक्नेछ । त्यसकै आधारमा केन्द्रमा नेताहरुको समीकरण बन्ने सम्भावना छ । मंसिर १६ र १७ गते सात प्रदेशको प्रदेश महाधिवेशन हुनेछ । त्यसपछि २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *