Main News

एमालेले आफ्नो महाधिवेशनमा माधव नेपालको पार्टीलाई किन बोलाएन, यस्ता छन् नेताका तर्क ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ७ गते २०:५५
एमालेले आफ्नो महाधिवेशनमा माधव नेपालको पार्टीलाई किन बोलाएन, यस्ता छन् नेताका तर्क ? (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) बाहेकका सबै राजनीतिक दललाई निमन्त्रणा गरेको छ । एकीकृत समाजवादीलाई भने उसले बोलाएन ।

एमालेबाटै फुटेर गएको समाजवादीलाई एमाले नेताले व्यक्तिगत प्रतिशोध र रिसइबीका कारण बोलाएनन् र गैरराजनीतिक संस्कार देखाए । तर पनि एमाले नेताहरु समाजवादीलाई नबोलाउनुको कुनै ठोस कारण दिँदैनन् । फरक फरक नेताहरु नबोलाउनुको कारण पनि फरक फरक नै दिन्छन् । किन त ?

कात्तिक १७ गते दशौं राष्ट्रिय महाधिवेशनका बारेमा जानकारी दिन भएको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीलाई निम्तो नदिने स्पष्ट पार्नुभएको थियो ।

उहाँले भने अनुसार नै नेकपा एमालेले एकीकृत समाजवादीलाई चितवनमा उपस्थित हुन निम्तो दिएन । अध्यक्ष केपी शर्मा ओली आफूले नै कारबाही गरेका र पार्टी विरोधी भएका कारण माधव नेपाल र उहाँको पार्टीलाई महाधिवेशनमा नबोलाएको बताउनुहुन्छ ।

तर संसदीय दलका उपनेता सुवास नेम्बाङ्गका अनुसार एकीकृत समाजवादीलाई महाधिवेशनमा नबोलाउनुको कारण अर्कै छ ।

अध्यक्ष र उपाध्यक्षलाई उछिनेर सचिव गोकर्ण विष्ट अर्कै कारण दिनुहुन्छ । निर्वाचन आयोग र संसद सचिवालयमा दर्ता भएको र मान्यता पाएको दल नेकपा एकीकृत समाजवादी, विष्टको नजरमा अझै अवैधानिक छ ।

एमालेका चार नेताले चार कारण दिए पनि नेकपा एकीकृत समाजवादीप्रति एमाले नेताहरुको रिसराग अझै मेटिएको छैन । अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मात्र नभई आफ्नो पक्षका चार जना मुख्ममन्त्रीलाई सत्ताबाट सडकमा पुर्‍याउने मुख्य जिम्मेवार एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई नै देख्नुभएको छ ।

ओली कुनै बेलाका आफ्नै सहकर्मी नेपालको अनुहार नै हेर्न चाहनुहुन्न । त्यसैले एकीकृत समाजवादीलाई निम्तो नदिएको घाम जत्तिकै छर्लंङ छ । बोलाउनु पर्नेले नै नबोलाए पछि नेकपा एकीकृत समाजवादीले पनि चितवन जान आवश्यक ठानेको छैन ।

अहिले नेपाली राजनीतिमा एउटा कुसंस्कार हाबी छ । र त्यो एमाले र उसका अध्यक्ष केपी शर्मा ओलीमा अझै बढी छ । त्यो हो आफू अनुकुल सबै ठीक, आफूले भनेपछि सबैले हो मा हो मिलाउनु पर्ने, आफैं मात्र सर्वेसर्वा हुने, आफ्ना प्रतिकुल र विपरित विचारधारालाई स्वीकार नै नगर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *