राजनीति

उपाध्यक्ष भीम रावललाई उम्मेदवारी फिर्ता लिन महेश बस्नेतको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ७ गते १४:३१
उपाध्यक्ष भीम रावललाई उम्मेदवारी फिर्ता लिन महेश बस्नेतको आग्रह (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गर्नु भएको छ ।

सचिवमा उम्मेदवारी घोषणा गर्दै नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गर्नु भएको हो । रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझाव समेत उहाँले दिनु भयो ।

नेता बस्नेतले भन्नुभयो, ‘कमरेड भीम रावलले अध्यक्षतको रुपमा आफूलाई उम्मेदवारी प्रस्तुत गर्नु भएको छ । म उहाँलाई के अनुरोध गर्न चाहन्छु भने दुई कारणले उहाँले उम्मेदवारी दिएको हुन सक्छ– एउटा, अध्यक्षको दावी गर्दै पार्टीका अन्य भूमिकाहरु, अन्य पदहरुमा आफूलाई स्थापित गराउन उहाँले चाहेको पनि हुन सक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने किनभने जित्ने उहाँको कुनै पनि सम्भावना देखिँदैन ।’

कार्यक्रममा नेता बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । पूर्वमन्त्री समेत रहनु भएका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दाबी समेत गर्नु भयो ।

उहाँले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफै पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्क समेत गर्नुभयो । उहाँले पार्टीमा युवाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गराउन पनि आफूले उनीहरुको प्रतिनिधित्व गर्दै सचिवमा उम्मेदवारी दिएको बताउनु भयो ।

नेता बस्नेतले भन्नुभयो, ‘समकालिन हिसावमा फादर अफ दि नेशनको रुपमा युवाहरु र जनताले स्वीकार गरिरहेको र आफूलाई चाँही समकालिन राजनीतिका एउटा अब्बल नेताको रुपमा स्वीकारेकाले केपी ओलीलाई हामी अध्यक्ष बनाउँछौं । र उहाँको सशक्त सहयोगीको हिसावले म चाँही यसपाली सचिवको रुपमा महाधिवेशनमा आफूलाई दावेदारी प्रस्तुत गरिरहेको छु । म आफै यो आन्दोलनबाट खारिएर आएको हुनाले, केपी कमरेडसँगको मेरो एक खालको हार्दिकता भएको हुनाले मलाई देशभरको एमाले कार्यकर्ताले माया गर्छन, अध्यक्षले मात्रै होइन । सबैले माया गर्नुहुन्छ र मलाई लाग्छ–निर्वाचन हुने स्थितिमा मैले पपुलर भोट ल्याएर जित्छु भन्ने लाग्छ ।’

नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरु र दशबूँदे सहमतिको अवधारणा बोकेर आएका नेताहरुलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्