सन् २०३० सम्ममा विश्वमै रेविजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य (भिडियो रिपोर्टसहित)

६ मंसिर २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वमै रेविजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ ।
नेपालमा पनि रेविजविरुद्धको अभियान चलिरहेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले रेविजविरुद्धको इम्यूनोग्लोबुलिन औषधि ७ वटै प्रदेशमा उपलब्ध गराएको छ ।
रेविज लागेको जनावरले टोकेमा वा चिथोरेमा जनावरको र्यालबाट रेविज मानिसमा सर्न सक्छ । विशेषगरी रेविज भाइरस, कुकुरमा देखिने भएकाले कुकुरले घाउ वा छाला छेडेको ठाउँमा चाट्दा, मुख तथा नाकभित्रको झिल्लीमा चाट्दा पनि यो रोग सर्न सक्ने चिकित्सकको भनाइ छ । रेविज विरुद्धको कुनै उपचार नभएकाले संक्रमित जनावरले टोकेमा तत्काल एन्टिरेविज भ्याक्सिन लगाउनु पर्छ । नत्र ज्यानै जाने खतरा हुन्छ ।
सामान्यतया एन्टिरेविज भ्याक्सिन लगाएको ७ देखि १० दिनभित्र मात्र शरीरले एन्टिबडी बनाउन थाल्छ । एउटाभन्दा बढी तथा ठूलो घाउ हुनेगरी टोकेमा, नाक तथा मुखिभत्रको झिल्ली र फुटेको ठाउँमा रेविज संक्रमित र्यालको सम्पर्क भएमा बढी जोखिम मानिन्छ ।
त्यसैले तत्कालै रेविज भाइरस निष्कृय बनाउन इम्युनोग्लोबुलिनको सुई दिनु आवश्यक हुन्छ । यसले भाइरसलाई निष्क्रिय पार्छ । यो सुइ एक पटक लगाएपछि लगाइराख्नु नपर्ने भएकाले पनि, यसलाई महत्वपूर्ण मानिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार विगत ७ वर्षको तथ्याकं हेर्ने हो भने रेविजकै कारण वार्षिक १५ जना देखि ३६ जनासम्मको मृत्यू हुने गरेको छ । तर अब रेविजबाट हुने मृत्युदर शुन्यमा झार्न भनेर स्वास्थ्य मन्त्रालयले ७ प्रदेशका नौ वटा अस्पतालमा रेविजको इम्युनोग्लोबुलिन, मंसिर पाँच गतेबाट उपलब्ध गराउने भएको छ ।
रेविज भाइरस कुकुर, फ्याउरो, ब्वासो, स्याल, विरालो जस्ता जनावरमा पाइन्छ । ती जनावरको टोकाइबाट मानिसमा रेविज लागे टोकेको ठाउँमा दुख्ने, चिलाउने, झमझमाउने जस्ता लक्षण देखिन्छन् ।
ज्वरो आउने, थकाइ लाग्ने, माशंपेशी दुख्ने, झर्कने, विरामी विना कारण काप्ने, बेसुर हुने लक्षण पनि देखिन्छ। रेविजको पूर्ण तथा अन्तिम अवस्थामा भने सास फेर्न गाह्रो हुने, खानेकुरा खान नसक्ने, माशंपेशीहरु खुम्चने समस्या हुन्छ । र पानी देख्दा डराउने, हावादेखि पनि डराउने समस्या भइ अन्ततस् ज्यानै जान्छ ।
प्रतिक्रिया