Main News

दर्ता नै नभएका टिभी उद्घाटन गरेपछि प्रधानमन्त्रीको यस्तो आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ५ गते २०:४५
दर्ता नै नभएका टिभी उद्घाटन गरेपछि प्रधानमन्त्रीको यस्तो आलोचना (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा दर्ता नभएको त्यो पनि भारतीय लगानीको भनिएका दुई टेलिभिजन उद्घाटन गर्न पुग्नुभयो । दर्ता नै नभएका आस्था नेपाल र पतञ्जली नेपाल टेलिभिजनको उद्घाटन प्रधानमन्त्रीबाटै हुँदा चौतर्फी आलोचना भएको छ ।

त्यो पनि भारतीय योग गुरु रामदेवको लगानीमा । दर्ताविनै खोलिएका टेलिभिजन प्रधानमन्त्रीबाट किन उद्घाटन गरियो ? प्रश्न उठेपछि बल्ल सूचना तथा प्रसारण विभागले छानबिन थालेको जानकारी दिएको छ ।

भारतीय राजनीतिमा समेत प्रभाव राख्ने योगगुरु रामदेवप्रति नेपाली नेताहरु कतिसम्म नतमस्तक बनेका छन् भन्ने पछिल्लो उदाहरण पतञ्जलीलाई दिएको महत्वले पुष्टि गर्छ । पतञ्जलीलाई जग्गा दिने प्रधानमन्त्री देउवाले नेपाली कानूनको दायरामै नआएको भारतीय लगानीमा सञ्चालन गर्न खोजिएका दुई टेलिभिजनको उद्घाटन नै गर्नुभयो ।

नेपालको कुनै पनि निकायमा आस्था नेपाल र पतञ्जली नेपालको दर्ता छैन । शुक्रबार काठमाडौंको मण्डिखाटारमा रहेको पतञ्जली योगपिठको कार्यालय रहने गरी योगगुरु रामदेवको बहुराष्ट्रिय कम्पनी पतञ्जलीको लगानीमा खुलेका आस्था नेपाल र पतञ्जली नेपाल टेलिभिजनको प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभयो ।

उहाँसँगै सत्तारुढ गठबन्धन घटकहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुले उद्घाटन गरेको टेलिभिजन नै अवैध भएको पाइयो । टेलिभिजन सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी सूचना तथा प्रशारण विभागबाट इजाजत लिनुपर्ने कानूनी व्यवस्था छ । तर विभागमा दुवै टेलिभिजनको रेकर्ड नरहेको प्रवक्ता भरत गौतमले जानकारी दिनुभएको छ ।

बिना दर्ता प्रशारणमा आएका दुवै टेलिभिजनका सम्बन्धमा आवश्यक कारबाही र सत्यतथ्य छानबिनका लागि विभागले निर्देशकको संयोजकत्वमा छानबिन समिति पनि बल्ल गठन गरेको छ । समितिले छानविन प्रतिवेदन तयार गरी सूचना तथा सञ्चार मन्त्रालयमा बुझाउने छ ।

राष्ट्रिय प्रशारण ऐन २ हजार ४९, राष्ट्रिय प्रसारण नियमावली २ हजार ५२ र प्रसारण सम्बन्धी निर्देशिका २ हजार ६० र टेलिभिजन सञ्चार माध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भएर मात्रै टेलिभिजन सञ्चालन गर्न पाउने कानूनी व्यवस्था छ ।

आस्था नेपाल र पतञ्जली नेपाल टिभीका विषयमा दर्ताको विषय मात्र छैन, वैदेशिक लगानीको प्रसंग पनि उठेको छ । देशको कानून र विधिको सामान्य पालना पनि नगरेको टेलिभजन सञ्चालनमा प्रधानमन्त्री र शीर्ष नेताहरु नबुझी किन गए ? वा बुझेरै गएको भए भारतको राजनीतिमा प्रभाव राख्ने रामदेवसँग घुँडै टेक्नुपर्ने अवस्था किन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *