एमाले महाधिवेशन : पदाधिकारीमा उम्मेदवारहरुको चर्चा किन भएन ? (भिडियो रिपोर्टसहित)
४ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन संघारमा आइपुग्दासमेत पदाधिकारीमा उम्मेदवारहरुको चर्चा खासै हुन सकेको छैन । पदका आकांक्षी सबैजसो नेताहरु अध्यक्ष केपी ओलीको मुख ताकेर बस्दा महाधिवेशनको सरगर्मी नदेखिएको हो ।
नेकपा एमालेको दशौँ महाधिवेशन आउन अब एक हप्ता पनि बाँकी छैन । मंसिर १० गते चितवनको नारायणी किनारमा उद्घाटन हुन लागेको महाधिवेशन महोत्सवको अधिकांश तयारी पूरा भइसकेको छ । तर महाधिवेशनबाट छनोट हुने पार्टीको नयाँ नेतृत्वको तयारी त के नेताहरुको कुनै छलफल र चर्चासमेत भएको सुनिदैन ।
एमालेले आगामी महाधिवेशनबाट १५ पदाधिकारी सहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी छनोट गर्नेछ । यति ठूलो संख्यामा नेतृत्व छनोटका लागि हुन लागेको दशौँ महाधिवेशन संघारमै आइपुग्दा पनि नेतृत्वमा कसैको चासो नभएको हो कि उम्मेदवारी घोषणा गर्न नेताहरु डराइरहका हुन् ?
एमालेले आगामी अध्यक्षका रुपमा केपी शर्मा ओलीलाई यसअघि नै अनुमोदन गरिसकेको छ । भीम रावलले अध्यक्ष पदमा लड्छु भनेर घुर्की लगाइरहे पनि अधिकांश नेताहरु दशौँ महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव नै नहुने बताउँदै आएका छन् ।
महाधिवेशनबारे छिटफुट बोल्ने नेताहरुले अन्य पदाधिकारीका लागि भने चुनाव हुन्छ भन्ने तर्क गर्छन् । तर उनीहरुले भनेको जस्तो अध्यक्ष बाहेकका पदमा पनि चुनाव हुने सम्भावना निकै नै कम छ ।
आफूलाई अध्यक्षमा विराजमान गराएर बाँकी १४ पद बाँडफाँड गर्न ओलीलाई सकस त छ नै तैपनि उहाँ चुनाव गराएर प्रतिस्पर्धामै १४ पद वितरण होस् भन्ने चाहनामा हुनुहुन्न । उहाँलाई सर्वसम्मती गरेरै पद र नेताहरु मिलाउनुपर्ने बाध्यता छ । यसैकारणले एमालेले यसअघि सबै तहको अधिवेशनमै सर्वसम्मतिको अभ्यास गरेको छ ।
माधव कुमार नेपालले नेतृत्व गरेको एउटा धार पार्टीबाट चोइटिएर गएपछि ओलीलाई पदाधिकारी मिलाउन यत्रो सकस त नहुनुपर्ने हो, तर सकस झन बढेको छ । पार्टीभित्रको आफ्नो पुरानै धार, माओवादी केन्द्रबाट प्रवेश गरेका नेताहरुको धार र हिजो माधव नेपालको साथ छोडेर १० बुँदे सहमतिको बर्को ओडेर घ्यु खान बसेको धारलाई १४ सिटमा कसरी समायोजन गर्ने यो ओलीका लागि टाउको दुखाईको विषय बनिरहेको छ ।
माधव नेपालसहित पार्टीको स्थायी कमिटीका अधिकांश नेताहरुले सडकमा उत्रिएर ओलीको खोइरो खनिरहँदा रक्षात्मक बनिदिएका नेताहरु आगामी महाधिवेशनमा पदाधिकारीका लागि पहिलो हकदार हुनु स्वभाविक हो ।
अनि क्षणिक समयको मन्त्री पदकै लागि भए पनि ओलीको महिमागान गाएर अगुवापछुवा भएका पूर्व माओवादी नेताहरुलाई पनि पदाधिकारीमा ल्याउनुपर्ने अर्को चुनौती छ । एमालेको पार्टी संगठनमा कत्ति पनि दम नभएका पूर्व माओवादी नेताहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी चुनावमा कमजोर बनाउने रणनीति सफल पार्न पनि पदको छेउलो हालिदिनुपर्ने बाध्यता ओलीसामु छ ।
चितवन नै चुनाव क्षेत्र भएका तर अहिलेसम्म चुनाव नलडेका रामबहादुर थापा बादल, ओलीकै लवजमा माधव नेपालको खिल्ली उडाएर एमालेमा डिएनए मिलाउन खोजेका टोपबहादुर रायमाझी, सुदूरपश्चिममा भीम रावलको विकल्पका रुपमा ओलीको न्यानो काखमा विराजमान लेखराज भट्ट, प्रदेश २ को भोट बैंक चलाएको दाबी गर्ने प्रभु साहलगायतलाई पदाधिकारी दिएरै पनि टिकाइरहनु पर्ने बाध्यता ओलीलाई छ ।
पदाधिकारीको चुनाव गराए यी नेताहरुले हार्ने निश्चित छ, चुनाव नगराए यी तीन धारका नेताहरुलाई मिलाएर आफू बाहेकका १४ पदमा कसरी अटाउने ओलीलाई टाउको दुखाई बनेको छ ।
ओलीको यही टाउको दुखाईमा पानी–पट्टी गरिरहेका नेताहरु महाधिवेशन मुखैमा आइपुग्दासमेत आफ्नो दाबेदारीबारे मुख खोल्न सकिरहेका छैनन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको अलिअलि चर्चा, महासचिवमा शंकर पोखेरलको पँधेरी हल्लाबाहेक खास केही सुनिएको छैन । त्यसैले एमाले महाधिवेशनको भव्य तयारी दुलही खोज्न बाँकी रहेको बिहेको टुंगो जस्तो देखिएको छ ।
प्रतिक्रिया