राजनीति

कांग्रेस नेताहरुको दौडधुप : कतै विवाद. कतै झडप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ४ गते २०:३५
कांग्रेस नेताहरुको दौडधुप : कतै विवाद. कतै झडप (भिडियो रिपोर्टसहित)

४ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुको दौडधुप बाक्लिएको छ । कांग्रेसमा अहिलेसम्म सभापतिका आकांक्षी ७ जना देखिएका छन् । पार्टी सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र अन्य प्रत्याशीहरु आफ्नो पक्षमा माहोल बनाउन आन्तरिक छलफलमा जुटेका छन् ।

सभापतिका प्रत्याशीहरुको नजर जारी तल्लो तहका अधिवेशनमा परेको छ । आ–आफ्नो पक्षका नेतारकार्यकर्ताहरुलाई जिताउन केन्द्रीय नेताहरु सक्रिय बनेका छन् । कतिपय स्थानमा विवाद चुलिएको छ भने केही ठाउँमा झडपकै स्थिति उत्पन्न भएको छ ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि नेताहरुको दौडधुप बाक्लिएको छ । यसपटक नीतिमा भन्दा नेतृत्वमा केन्द्रित बनेको कांग्रेसको १४ औं महाधिवेशन रोचक हुने देखिएको छ । अहिलेसम्म नेताहरुको आकांक्षा हेर्दा संस्थापन र संस्थापन इतरका एकल–एकल उम्मेदवार हुने देखिँदैन ।

संस्थापन पक्षमा पार्टी सभापति देउवा सहित उहाँ निकट मानिएका उपसभापति विमलेन्द्र निधी सभापतिकै उम्मेदबारका लागि प्रयासरत् हुनुहुन्छ । आफ्नो समूहबाट एकल उम्मेदवार बन्न पार्टी सभापति देउवाले पटक–पटक निधीलाई फकाउने प्रयास गर्नुभयो । तर, निधी पछि हट्ने पक्षमा हुनुहुन्न । उहाँले आफ्नो अलगै गुटका साथ मैदानमा उत्रिने प्रष्ट पारिसक्नुभएको छ ।

१३ औं महाधिवेशनको प्रतिवद्धता अनुसार पनि आफू स्वभाविक सभापतिको उम्मेदवार रहेको निधीको तर्क छ । समस्या संस्थापनमा मात्र होइन, संस्थापन इतरमा झन धेरै छ । संस्थापन इतरमा वरिष्ठ नेता पौडेल मात्र होइन तीन नेताहरु आकांक्षी देखिएका छन् ।

महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला पनि सभापति उम्मेदवार नछाड्ने अडानमा देखिनुभएको छ । संस्थापन इतरबाट साझा उम्मेदवारका लागि धेरै पटक छलफल गरेको यो समूहका सबै आकांक्षीले आफूलाई एकपटकका लागि सभापतिमा समर्थन गर्न एक–अर्कालाई आग्रह गर्दै आएका छन् । तर, छोड्न कोही तयार देखिदैनन् । कसैले छाड्ने मनस्थिति नबनाउँदा वरिष्ठ नेता पौडेलले आफूलाई आगामी निर्वाचनसम्म मात्र भए पनि सभापतिको उम्मेदवारका लागि सहयोग गर्न प्रस्ताव नै गर्नुभयो ।

उमेर बढ्दै जाँदा अर्को महाधिवेशनमा युवा पुस्ताले ओगट्ने डरले पनि ६० कटेका नेताहरु यही महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्न चाहन्छन् । त्यसैले पनि एकले अर्का नेतालाई छाड्न चाहेका छैनन् ।

१३ औं महाधिवेशनबाट तेस्रो धारका रुपमा उदायका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिको आकांक्षी हुनुहुन्छ । तर, उहाँ अहिले पर्ख र हेरको अवस्थामा हुनुहुन्छ । उहाँले संस्थापन इतरबाट साझा उम्मेदवार बनेको खण्डमा सभापतिको आकांक्षा त्याग्ने सम्भावना रहेको छ । यता, संस्थापन पक्षमा पार्टी सभापति देउवाले सिटौलालाई आफूतिर तान्ने प्रयास जारी राख्नुभएको छ ।

प्रदेश क्षेत्रीय अधिवेशन जारी रहेका बेला सभापतिका सबै आकांक्षीहरुले आन्तरिक छलफल र भेटघाटलाई तीव्र पारेका छन् । सभापतिका आकांक्षीहरुको नजर अहिले प्रदेश क्षेत्रीय अधिवेशनसम्म परेको छ । प्रदेश महाधिवेशन प्रतिनिधि पनि यही अधिवेशनबाट चयन हुने भएकाले नेताहरुको चासो बढेको छ । जसका कारण अधिकांश क्षेत्रमा विवाद र झमेला भएको छ ।

शनिबार मात्र पनि रुपन्देहीमा दुइपक्षीयबीच भिडन्त नै भयो । रुपन्देही देउवा निकट नेता बालकृष्ण खाणको गृहजिल्ला पनि हो । उहाँ हाल गृहमन्त्री हुनुहुन्छ । झडप हुनुमा गृहमन्त्री खाणकै हात रहेको पौडेल पक्षले आरोप लगाउँदै आएको छ । अर्कोतिर सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा पनि चरम विवाद रहेको छ । नेताहरुको आफ्नो स्वार्थका कारण कांग्रेसमा लोकतान्त्रिक अभ्यासभन्दा गुटगत अभ्यासले प्राथमिकता पाएको छ । नेताहरुको रवैयाले कांग्रेस कार्यकर्तामा भने निराशा पैदा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्