Main News

कांग्रेस अधिवेशनमा लफडा : कार्यकर्ता आपसमै भिडेपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ४ गते २०:२५
कांग्रेस अधिवेशनमा लफडा : कार्यकर्ता आपसमै भिडेपछि… (भिडियो रिपोर्टसहित)

४ मंसिर २०७८ रुपन्देही । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत रुपन्देहीका १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनाव भयो । ९ क्षेत्रको मत गणना सकिएर नतिजा आइसकेको छ । तर क्षेत्र नम्बर ३ को (क) मा भने मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा कांग्रेस कार्यकर्ता एक आपसमै भीडे र अस्पताल पुगे ।

लुम्बिनी प्रदेश अस्पतालको बेडमा पल्टिएका उहाँ कांग्रेसका नेता शैलेश पन्त हुनुहुन्छ । उहाँ बिरामी भएर वा दुर्घटनामा परेर अस्पतालको बेडमा पुग्नुभएको हैन ।

मंसिर ६ गते हुन लागेको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा सचिव पदका उम्मेदवार उहाँ त आफ्नै सहकर्मी अर्थात कांग्रेस कार्यकर्ताबाट कुटिएर अस्पताल पुग्नुभएको हो ।

नेपाली कांग्रेस रुपन्देही पार्टी कार्यालयमा क्षेत्र नम्बर ३ ९क० को क्षेत्रीय अधिवेशनको मतगणना चलिरहेका बेला कांग्रेस कार्यकर्ता आपसमै भीडे । त्यसक्रममा पन्तसहितका ५ जना घाइते भए ।

प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिएपछि सभापित शेरबहादुर देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर मतगणनास्थलमा धावा बोलेका थिए ।

संस्थापन पक्षले हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँणको आडमा तरुण दलका जिल्ला अध्यक्ष सोम बहादुर गुरुङ्ग सेतेको टिमले आक्रमण गरेको आरोप छ ।

कुटपिट भएको ठाउँ गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला मात्र हैन । उहाँकै चुनाव क्षेत्रसमेत हो । वरिष्ठ नेता पौडेल पक्षले यो क्षेत्रमा फेरि चुनाव गर्न माग गरेको छ ।

पटकपटक म्याद थप्दै पार्टी नेतृत्वले महाधिवेशनका नाममा रमिता गरिरहेका बेला कांग्रेसका कार्यकर्तासमेत एक आपसमा भिडेर थप रमिता गरेका छन् । जिम्वेवार पार्टीका कार्यकर्ताहरु न्यूनतम अनुशासनमा नबस्दा यसबाट पक्कै राम्रो सन्देश जाने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *