प्रधानन्यायाधीशको राजीनामा माग्दै बारद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

४ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै विरोधमा उत्रिएको नेपाल बार एशोसिएशनले देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
आज बार महासचिव लीलामणि पौडेलले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुभएको हो । आन्दोलनका कार्यक्रम अनुसार भोलि बन्दीप्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने रहेको छ ।
यस्तै सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोध सभा गर्दै आएकोमा निरन्तरता दिने, केन्द्रमा संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ।
मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रत्युत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने नगराइने बारको निर्णय छ।
त्यस्तै, बारले बुधबार नेपालका १८ वटा उच्च अदालत तथा अदालतका इजलास रहेका स्थानमा विरोधसभा गर्ने भएको छ ।
यस्तै, मंसिर ९ र १० गते बारले काठमाडौं उपत्यकाका सबै बार इकाइका सदस्यको सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रम गर्ने भएको छ।
प्रतिक्रिया