मतगणनाका क्रममा रुपन्देहीमा कांग्रेस कार्यकर्ताबीच झडप, पाँच जना घाइते (भिडियो रिपोर्टसहित)

४ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर ३ (क) मा मतगणना क्रममा विवाद हुँदा झडप भएको छ।
सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका बेला केही युवाले आक्रमण गर्दा एक उम्मेदवारसहित ५ जना घाइते भएका छन्। मतगणनाका क्रममा रामचन्द्र पौडेल पक्षबाट प्यानल बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा गएराति २ बजे आक्रमण भएको हो।
झडपबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाइते हुनुभएको छ भने अन्य ४ जना सामान्य घाइते भएका छन्।
आफ्नो समूहले अग्रता लिइरहेको अवस्थामा आक्रमण भएको प्रदेश सभा क्षेत्रीय सभापतिका उमेदवार पुरण श्रेष्ठले बताउनुभयो । मत गणना भइरहँदा बत्ती निभाएर आफुहरुमाथि आक्रमण भएको पौडेल पक्षका नेताहरुको भनाइ छ ।
तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको समूहले आफुहरुमाथि आक्रमण गरेको घाइतेहरुले आरोप लगाएका छन् । झडपपछि मतगणना स्थगन गरिएको कांग्रेस रुपन्देहीका निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया