उपत्यकासहित देशभर ह्वात्तै बढ्यो चिसो, उच्च पहाडी भेगमा हिमपातको सम्भावना

१ मंसिर २०७८ काठमाडौं । आज काठमाडौँको न्यूनतम तापक्रम जाडो शुरु भएयताको कम मापन गरिएको छ ।
आज बिहानको तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।
राति मौसम सफा भएसँगै देशका धेरै ठाउँमा बिहानको तापक्रम घटेर चिसो बढेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार राति आकाश खुल्दा जमिन चिसिएर बिहानको तापक्रम घट्ने गर्छ ।
हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
यसैबीच आज र भोलि देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद् नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा घाम लाग्दै बादल लाग्ने र अरु ठाउँको मौसम सामान्यतया सफा रहने छ। राति भने देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ।
यस्तै भोलि दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने छ। तर पर्सि उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले पुर्वानुमान गर्नुभएको छ।
पश्चिमी वायुको प्रभावले देशका धेरै ठाउँको मौसम बदली भइ उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । हिमपात भएपछि देशभर झन् चिसो बढ्ने भएकाले ख्याल गर्न उहाँको सुझाव छ ।
प्रतिक्रिया