राजनीति

नेपाली कम्युनिष्ट नेताः जसमा पार्टीको नेतृत्वदायी पद नछाडने प्रवृत्ति छ !

हिमालय टिभी
२०७८ कार्तिक ३० गते २०:५६
नेपाली कम्युनिष्ट नेताः जसमा पार्टीको नेतृत्वदायी पद नछाडने प्रवृत्ति छ !

३० कात्तिक २०७८ काठमाडौं । नेकपा मालेको महासचिवमा सीपी मैनाली पुनः निर्वाचित हुनु भएको छ । विक्रम संवत २०३५ सालमा स्थापना भएको मालेको संस्थापक महासचिव रहेका मैनाली २०५८ सालयता निरन्तर पदमा हुनुहुन्छ । मैनाली मात्रै नभएर नेपालमा अधिकांश कम्युनिष्ट पार्टीको नेतृत्वमा पद नछाडने प्रवृत्ति छ ।

चितवनमा सम्पन्न नेकपा मालेको महाधिवेशनले महासचिवमा सीपी मैनालीलाई नै फेरी महासचिवको जिम्मेवारी दिएको छ । मैनाली २०३५ सालमा स्थापना भएको पार्टीको संस्थापक महासचिव हुनुहुन्छ । उहाँ २०३९ सालसम्म महासचिवको पदमा रहनु भयो ।

२०४७ सालमा विभिन्न पार्टीहरु मिलेर एमाले गठन भएपछि मैनाली पनि एमालेमै जानु भयो । पछि २०५४ साल फागुन २१ गते बामदेव गौतम लगायतले पार्टी विभाजन गरेर पुन माले गठन गरेपछि मैनाली पनि सोही पार्टीमा आवद्ध हुनु भयो । २०५८ सालमा गौतम एमालेमै फर्किए पनि मैनाली भने मालेमै रहेर महासचिव हुनुभयो । ५८ साल यता मैनाली निरन्तर पदमा हुनुहुन्छ ।

उहाँ महासचिवको पदमा बसेको २१ वर्ष पुग्यो । मैनाली जस्तै पद छाड्न नखोज्ने नेता हुनुहुन्छ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । २०४६ साल यता उहाँ पार्टीको नेतृत्वमा हुनुहुन्छ ।

२०५१ सालदेखि माओवादी पार्टीको महासचिव भएका प्रचण्ड २०५७ साल यता पार्टीको अध्यक्षमा निरन्तर हुनुहुन्छ । अर्थात पछिल्लो तीन दशक देखि उहाँ नेतृत्वमा हुनुहुन्छ । केही समय अघि प्रचण्डले आफूले विश्राम लिन चाहे पनि पार्टी हाक्ने नेता नपाएको दाबी गर्नु भएको थियो ।

लामो समय पार्टीको नेतृत्वमा रहने अर्का नेतामा पर्नुहुन्छ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे । विजुक्छे पनि झण्डै चार दशकदेखि पार्टीको नेतृत्वमा हुनुहुन्छ । पुष्पलाल समूहबाट अलग भएर २०३१ सालमा नेमकिपा गठन गरेका बिजुक्छे अहिलेसम्म अध्यक्षमा हुनुहुन्छ ।

कुर्सी छाड्न नचाहने अर्का कम्युनिष्ट नेता हुनुहुन्छ राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी । केसी पनि एक दशक अघिदेखि पार्टीको नेतृत्वमा हुनुहुन्छ । नेतृत्व छाड्न नचाहाने कम्युनिष्ट नेता मोहनविक्रम सिंह पनि लामो समयदेखि भूमिगत पार्टी मसालको नेतृत्व गरिरहनु भएको छ ।

कम्युनिष्ट पार्टीका नेता मात्रै नभएर गैर कम्युनिष्ट पार्टीमा पनि कुर्सी छाड्न नचाहने रोग छ । त्यसको उदाहरण राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा हुनुहुन्छ । थापा पनि २०६४ सालयता पार्टीको नेतृत्वमा हुनुहुन्छ ।

पद छाड्न नचाहाने प्रवृत्तिकै कारण धेरै कम्युनिष्ट पार्टीहरु पटक पटक विभाजनको सिकार हुने गरेका छन् । पार्टी बरु भाँडमा जाओस आफ्नो पद जसरी पनि जोगियोस भन्ने नेताहरुलाई लागेको देखिन्छ ।

पार्टीको नेतृत्व गरेर राष्ट्रलाई केही दिनुभन्दा पनि आफ्नो नाम भजाउन पाए पुग्ने मनोरोगले नेताहरु ग्रस्त छन । हालसालै नेपालको सबैभन्दा ठूलो दल नेकपा विभाजन हुनुको पछाडिको कारण यो पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्