Main News

हिउँदसँगै आगलागीका घटना पनि बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३० गते २०:४१
हिउँदसँगै आगलागीका घटना पनि बढ्दै (भिडियो रिपोर्टसहित)

३० कात्तिक २०७८ काठमाडौं । हिउँद शुरु भएसँगै आगलागीका घटना पनि बढ्दै गएका छन् । ग्रामीण क्षेत्रका बजार तथा तराई मधेशका बस्ती आगलागीको जोखिममा छन् । तर आगलागीको जोखिम न्युनिकरणका लागि सोचे अनुसार काम हुन सकेको छैन ।

गृह मन्त्रालयको तथ्या‌क अनुसार पछिल्लो पाँच वर्षमा नेपालमा एघार हजार तीन सय ५७ वटा आगलागीका घटना भए । जसका कारण तीन सय ६८ जनाले ज्यान गुमाए । १५ हजार ६ सय २६ घर परिवार प्रभावित भए र १३ अर्व भन्दा बढी धनमाल क्षति भयो ।

आगलागीको घटनामा सबैभन्दा बढी ग्रामिण सदरमुकाम र तराईका बस्तीहरु प्रभावित हुँदै आएका छन् । यी स्थानमा आगलागी हुनुको मुख्य कारण विकट भौगोलिक स्थिती र कमजोर संरचना हुन् । तर, घटनाका बेला सुरक्षाका कुराहरु हुने अनि आगोसँगै सेलाउने परिपाटीका कारण यस्ता घटना दोहोरिरहेका छन् ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा ६० साल यता ६ ठूला आगलागी भए । झण्डै एक अर्व रुपैयाँको क्षति भयो । पछिल्लो एक साताकै कुरा गर्दा पनि आगलागी सम्बन्धी ४० वटा घटना भए ।

यो तथ्याङ्कले पनि आगलागीका कारण नेपाल जोखिममा छ भनेर प्रष्ट पार्छ । पहाडी सदरमुकामका पुराना बजार, जहाँ दमकल पुग्न सक्दैन । अनि तराईका फुसले छाएका बस्तीहरुमा पटक पटक आगलागी हुने गरेका छन् । विषेश गरी सुख्खा मौसममा आगलागीका घटना धेरै हुने भए पनि नागरिकको लापरवाहीका कारण बाह्रै महिना जोखिम छ ।

विपद् जोखिमका लागि स्थानीय सरकारले बजेट छुट्याएरै कार्यक्रम पनि ल्याउने गरेका छन् । तर त्यस्ता कार्यक्रमहरु केही कागजमै सिमित छन्, केही निस्प्रभावी बनेका छन् ।

आगलागीका घटना दोहोरिइ रहनुमा पूर्वतयारीमा लगानीको अभाव, समन्वयको कमी, उपलब्ध साधन श्रोत पनि प्रभावकारी नहुनु, अव्यवस्थित शहरीकरण जस्ता प्रमुख कारण हुन् । यससँगै आगलागीको सुरक्षाका उपायबारे जनचेतना जगाउन नसक्नुमा सरकारको कमजोरी स्पष्ट छ ।

प्राकृतिक विपत्तीलाई रोक्न त सकिन्न । त्यसको न्यूनिकरणको उपाय भने अपनाउन सकिन्छ । प्रतिरोधात्मक कार्यक्रममा सरकारसँगै नागरिक आफैं पनि सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *