प्रदेश २ का मन्त्री रामनरेश राय यादव पदमुक्त, मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने यादवको प्रतिक्रिया
३० कात्तिक २०७८ धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई पदमुक्त गर्नुभएको छ ।
जनता समाजवादी पार्टीका नेता समेत रहेका यादवले सम्हालेको मन्त्रालय नेकपा (एकीकृत समाजवादी)लाई दिने मुख्यमन्त्री राउतको तयारी छ । सत्तारुढ गठबन्धनले दुई वटा मन्त्रालय एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीलाई दिइने अर्को मन्त्रालयबारे टुंगो लागिसकेको छैन । पदमुक्त भएका यादवले असन्तुष्टि राख्नुभएको छ । उहाँले मुख्यमन्त्री राउतले व्यक्तिगत रिसिइबीका कारण आफूलाई हटाएको हिमालय टेलिभिजनलाई प्रतिक्रिया दिनुभयो ।
उहाँले मुख्यमन्त्रीले कुन कारणले आफूलाई हटाएको हो ? प्रष्ट पार्न पनि आग्रह गर्नुभयो । यादवले भ्रष्टाचारको अभियोग लागेका मुख्यमन्त्री राउतले नैतिकता भए पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले पनि प्रदेश २ मा भ्रष्टाचारको जालो फैलिएको प्रष्ट पारेको उहाँको भनाइ थियो । तर, मुख्यमन्त्रीको सचिवालयले यादवलाई गठबन्धन र दलको निर्णय अनुसार राजीनामा दिन आग्रह गरेपनि नदिएपछि पदमुक्त गरेको बताएको छ ।
यादवले लगाएको आरोप निराधार गरेको मुख्यमन्त्री सचिवालयको भनाइ छ ।
प्रतिक्रिया