कांग्रेसको इतरपक्ष यसरी हुँदै तितरबितर (भिडियो रिपोर्टसहित)
२९ कात्तिक २०७८ काठमाडौं । नेपाली कांग्रेसमा बाहिर देखिएका मुख्य त तीन धार छन् । सभापति देउवाको नेतृत्वको संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको इतरपक्ष र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्ष ।
कांग्रेसको १३ औं महाधिवेशनमा यिनै तीन पक्षबीच प्रतिस्पर्धा भएको थियो । तर आसन्न १४ औं महाधिवेशनमा भने पुरानो समीकरण भत्किएर नयाँ समीकरण बन्ने संभावना देखिएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वमा प्रतिस्पर्धाका लागि अझै स्पष्ट समीकरण बनिसकेको छैन । तर सभापति र पदाधिकारीमा आकांक्षी धेरै देखिँदा यसअघिको समीकरण भत्किने र नयांँ बन्ने संभावना छ । पार्टी नेतृत्वमा आफ्नो दाबी बलियो बनाउन नेताहरुले आन्तरिक कसरत तीव्र पारेका छन् ।
सभापतिमा दोहोरिने चाहना राखेका शेरबहादुर देउवाले केही दिनअघि उपसभापति विमलेन्द्र निधिलाई बोलाएर सहयोग गर्न आग्रह गर्नु भएको थियो । तर देउवाको आग्रहलाई अस्वीकार गरेका निधि छुट्टै प्यालन बनाएर अघि बढ्ने सम्भावना छ। अघिल्लो महाधिवेशनमा अन्तिममा देउवालाई सहयोग गरेका अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि यसपटक छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने घोषणा गरिसक्नु भएको छ ।
सिटौला र निधिले साथ छोडेपछि देउवाले अन्य प्रभावशाली नेताहरुलाई फकाउने कोसिस गर्नु भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलसँगसमेत देउवाले लेनदेन गर्ने संभावना उत्तिकै छ । पौडेल उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेपछि दुवै पक्षका नेता सशंकित देखिनुले पनि कतै देउवा र पौडलबीच लेनदेन त भैसकेको हैन भन्ने अड्कलबाजीसमेत सुरु भएको छ । अर्कोतर्फ इतरपक्षबाट यसपटक साझा उम्मेदवार बन्ने संभावना कमजोर बन्दै गएको छ ।
एकपटक पार्टी सभापति बन्ने वरिष्ठ नेता पौडेल पौडेलको चाहनामा आफ्नै पक्षका पूर्वमहामन्त्री प्रकाशमानसिंह तगारो बन्ने अवस्था छ । सिंहले पौडेलले पार्टी हाक्न नसक्ने भन्दै आफू नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसक्नु भएको छ र सभापति देउवा र वरिष्ठ नेता पौडेलका विरुद्ध आक्रमक अभिव्यक्ति दिँदै आउनु भएको छ ।
देउवाइतर समूहबाट आफू साझा उम्मेदवार बन्ने संभावना कमजोर देखिएपछि पौडेल केही लचिलो देखिनु भएको छ । इतर समूहमै रहेका कोइराला परिवारबाट पनि सभापतिका तीन जना आकाँक्षी छन् ।
पार्टीमा पारिवारिक विरासत रहेका महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला र नेतृ सुजता कोइराला तीनै जनाले आफूलाई सभापतिको उम्मेदवार घोषणा गरिसक्नु भएको छ । शेखर कोइरालाले त तीन जना आकाँक्षी रहे पनि कोइराला परिवारबाट आफू नै साझा उम्मेदवार रहेको घोषणा गर्नु भएको छ । उम्मेदवारी मनोनयनको मिती नजिकिँदै गर्दा ठ्याक्कै कस्तो समीकरण बन्छ स्पष्ट त भैसकेकको छैन तर पुरानो समीकरण भने भत्किने निश्चित जस्तै छ ।
रोचक कुरा त महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन थापा यसपटक शेखर कोइरालाकै प्यानलबाट उम्मेदवार बन्ने संभावना रहेको बताइन्छ । थापा अहिले कोइराला र सिंह दुवै तर्फ ढल्किनु भएको छ । उहाँ विगतमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बन्नु भएको थियो ।
यसपटक उहाँले सुरुदेखि नै सिटौलाको साथ छाडेर पौडेल समूहमा खुल्नु भएको थियो । अर्का प्रभावशाली युवा नेता मानिने प्रवक्ता विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि महामन्त्रीका आकांक्षी हुनुहुन्छ । पौडेल र शर्मा कुन समूहबाट प्रतिस्पर्धा गर्ने अझैसम्म स्पष्ट भैसकेको छैन ।
अर्का नेता कल्याण गुरुङले त सभापतिमै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ लगायतले पनि महामन्त्री मै उठ्ने चाहना राखे पनि उम्मेदवारी भने घोषणा गरिसक्नु भएको छैन । नेतृत्वका आकांक्षी धेरै भएसँगै नयां बन्ने समीकरण रोचक हुने देखिन्छ ।
प्रतिक्रिया