हरिबोधनी एकादशी : नारायण मन्दिरहरूमा श्रद्धालुको भीड (भिडियो रिपोर्टसहित)

२९ कात्तिक २०७८ काठमाडौं । कार्तिक शुक्ल एकादशी, आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइएको छ । देशका विभिन्न नारायण मन्दिरमा श्रद्धालुले पूजाआराधना गरी ठूलो एकादशी मनाएका छन् । हरिबोधनी एकादशीका दिन काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लाग्यो ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने मान्यता अनुसार आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।
सोमबार काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा ठूलो मेला लाग्यो । हरिबोधनी एकादशीमा ब्रत बस्नाले पारिवारिक सुख शान्ति मिल्ने र मनमा आत्मसन्तुष्टि समेत मिल्ने श्रद्धालुहरूको विश्वास छ ।
कोरोनाका कारण २ वर्षसम्म देशभरका मठमन्दिरमा नियमित पूजाबाहेकका गतिविधि भएनन । कोरोना कहर केही सहज भएसँगै यस वर्ष नारायण मन्दिरहरुमा श्रद्धालुको घुइचो लागेको छ । हिन्दू सनातन संस्कृतिमा विषेशगरी विष्णु भगवान र तुलसीसँग सम्बन्धित एकादशी पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
हरिबोधनी एकादशीका दिन विशेष मेला लाग्ने बूढानीलकण्ठ मन्दिरको महत्वका कारण धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको छ । यसले बूढानीलकण्ठको नगरपालिकाकै समृद्धिमा टेवा पुग्ने नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलको विश्वास छ ।
धार्मिक विविधताको देश नेपालमा मनाइने चाड पर्व हाम्रा गहना हुन् । चाड पर्व मनाउनुपर्छ । तर चाडपर्व मनाउँदा देशमा अझै पनि कोरोना कहर सकिएको छैन भन्नेमा पनि ध्यान दिनु र सावधानी अपनाउनु आवश्यक छ ।
प्रतिक्रिया