Main News

पूर्वन्यायाधीश फोरमले भन्यो–प्रधानन्यायाधीशको वार्ता आव्हानको विज्ञप्ति भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास

हिमालय टिभी
२०७८ कार्तिक २९ गते १७:१४
पूर्वन्यायाधीश फोरमले भन्यो–प्रधानन्यायाधीशको वार्ता आव्हानको विज्ञप्ति भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास

२९ कात्तिक २०७८ काठमाडौं । पूर्वन्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वार्ताका लागि आव्हान गरेको विज्ञप्ती भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको बताएको छ ।

पूर्वन्यायाधीश फोरम, नेपालले आज काठमाडौंमा एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराले वार्ताका लागि आव्हान गरेको विज्ञप्ति न्यायको विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको प्रतिक्रिया दिएको हो । सो विज्ञप्ति न्यायालयको हितमा नरहेको फोरमको ठहर गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘आज मिति २०७८÷७÷२९ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरेको विज्ञप्ति न्यायका विचलन तथा भ्रष्टचार लुकाउन गरिएको दुष्प्रयास मात्र हो । यो न्यायालयको हितमा रहेको देखिँदैन ।’

पूर्वन्यायाधीश फोरम, नेपालका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्तिमा समस्या समाधानको निम्ति ‘आइसब्रेक’ गर्ने खालको कुनै कुरा नआएको टिप्पणी गर्नुभयो । विज्ञप्ती अल्मल्याउनका निम्ति फालिएको पासा मात्रै भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘त्यो विज्ञप्तिमा ‘आइसब्रेक’ गर्ने किसिमको कुनै कुरा हामीले त्यहाँ पाएनौँ । किनभने उहाँले न्यायाधीश हरिकृष्ण कार्कीको जुन प्रतिवेदन हो त्यो लागू गर्छु भन्नुभयो, यो कुराहरु त पहिलेदेखि नै छ । वास्तवमा उहाँले मात्रै लागू गर्ने होइन कि यो त उहाँको टिमले लागू गर्ने हो । टिमप्रति उहाँ कुनै उत्तरदायी भएको नदेखिनाले केवल मै हुँ सर्वेसर्वा भन्ने लागेकाले यसबाट कुनै फाइदा होलाजस्तो हामीलाई लागेको छैन । अल्मल्याउने पासा फ्याकेको मात्रै हो ।’

फोरमले प्रधानन्यायाधीश जबराले आचारसंहिता उल्लघंन गरेका कारण महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल समक्ष संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाउपर न्यायाधीशहरुको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा जारी विज्ञप्तीमा उल्लेख भएका पन्ध्र बुँदे आधारमा महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल, सांसदहरुलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरुसमक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौँ ।’

प्रधानन्यायधीश जबराको हठ र निरंकुशताका कारण न्यायालयमा संकट उत्पन्न भएको भन्दै जबरा पदबाट अबिलम्व बहिर्गमन हुनुपर्ने माग पूर्वन्यायाधीश फोरमले राखेको छ । पूर्वन्यायाधीश फोरम, नेपालका सदस्य राजेन्द्रकुमार भण्डारीले न्यायालयमा विचौलिया भित्राउने मुख्य नाइकेनै प्रधानन्यायाधीश जबरा भएको आरोप लगाउँदै जबराको बहिर्गमन आवश्यक ठहरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘न्यायमा विचलन भयो भन्ने किसिमले रिपोर्टबाट प्रमाणित भएको छ । त्यो प्रमाणित रिपोर्टलाई उहाँले स्वीकार गर्नुभएको छ । त्यसको मुख्य नाइके नै प्रधानन्यायाधीश हो । उहाँको आचरण शुद्ध छैन । उहाँको बहिर्गमन आवश्यक ठहरियो ।’

फोरमले वैधानिक बाटोबाट अदालत प्रवेश गर्न नसक्ने, प्रहरीको संरक्षण खोज्ने, जिम्मेवारीबाट पन्छिने प्रधानन्यायाधीश जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने ठहर गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *